अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै इरान अडानमा, मध्यपूर्व तनाव झन् चर्कियो

एजेन्सी , ४९  पटक हेरिएको

भैरहवा,चैत १२

इरानले अमेरिकाको १५ बुँदे वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इरानले आफ्ना केही शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने पनि जनाएको छ । इरानले आफूमाथि भइरहेका आक्रमण र हत्या पूर्णत बन्द हुनुपर्ने, इस्लामिक गणतन्त्रमाथि फेरि आक्रमण नहुने सुनिश्चितता प्रदान गर्नका लागि ठोस संयन्त्र स्थापना हुनुपर्ने, युद्धको क्षतिपूर्ति रकम पाउनुपर्ने, सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने र हर्मुज जलमार्गमा इरानले सार्वभौम अधिकार अभ्यास गर्न पाउनेगरी अन्तर्राष्ट्रिय मान्यता र सुनिश्चितता हुनुपर्ने शर्त अघि सारेको छ ।

इरानले अमेरिकासँग भइरहेको भनिएको वार्तालाई अस्वीकार गरेसँगै दुई देशबीच गहिरो अविश्वास देखिएको बीबीसीले जनाएको छ । वाशिङ्टनले वार्तामा प्रगति भइरहेको दाबी गरे पनि तेहरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको हो । यद्यपि भित्रभित्रै केही कूटनीतिक प्रयासहरू भइरहेका खबरमा उल्लेख छ । अमेरिका र इजरायलले सैन्य दबाबमार्फत इरानमाथि जित हासिल गर्ने अपेक्षा गरे पनि इरानले कडा रूपमा जवाफ दिइरहेको छ । जसले गर्दा मध्यपूर्वमा क्षेत्रीय तनाव कायम छ । इरानले छिमेकी देशहरूमा आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्रसंघले सबै पक्षलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ ।

यसैबीच फिलिपिन्समा राष्ट्रिय ऊर्जा संकटकाल घोषणा भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा संकटकाल घोषणा गर्ने फिलिपिन्स पहिलो देश हो । राष्ट्रपति फर्डिनान्ड मार्केस जुनियरले संकटकाल घोषणा गर्नुभएको हो । युद्धले हर्मुजको जलमार्गमा अवरोध भएपछि विश्व बजारमा इन्धन अभाव तथा मूल्यवृद्धि भएको छ । पश्चिम एसियाबाट ग्यास तथा कच्चा तेल किन्ने गरेका एसियाली देशहरू विशेष मारमा छन् । फिलिपिन्समा ९८ प्रतिशत इन्धन खाडी क्षेत्रबाट आउने गर्छ ।

प्रकाशित मिति: २०२६-०३-२६ , समय : ०९:३४:१८ , १ घन्टा अगाडि