विश्वकपमा चम्किए एम्बाप्पे, बनाए नयाँ ऐतिहासिक रेकर्ड

रुपन्देही खबर , ५  पटक हेरिएको

असार २६

फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । २७ वर्षको उमेरमा आफ्नो २० औँ विश्वकप खेल खेल्दै उनी विश्वकपमा २० खेल पूरा गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

मोरक्कोसँगको खेलमा एक गोल गर्दै एम्बाप्पेकाे  विश्वकपमा कुल गोल संख्या २० पुगेकाे छ । साथै पेनाल्टीबाहेक सर्वाधिक विश्वकप गोल गर्ने खेलाडीको सूचीमा उनले अर्जेन्टिनाका लियोनल मेस्सीको १७ गोलको कीर्तिमानीको बराबरी गरेका छन् ।

सन् १९९८ डिसेम्बर २० मा फ्रान्सको पेरिस नजिकै रहेको बोन्डीमा जन्मिएका एमबाप्पे बाल्यकालदेखि नै असाधारण गति, उत्कृष्ट बल नियन्त्रण, प्रभावशाली ड्रिब्लिङ र गोल गर्ने क्षमताका कारण उनी विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एकका रूपमा परिचित छन् ।

हाल उनी फ्रान्स राष्ट्रिय टोलीका कप्तान तथा अग्रपङ्क्तिका प्रमुख खेलाडी हुन् । एमबाप्पेले आफ्नो व्यावसायिक फुटबल करियर फ्रान्सेली क्लब मोनाकोबाट सुरु गरेका थिए ।

सन् २०१८ को फिफा विश्वकपमा फ्रान्सलाई उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसयता उनी फ्रान्सका सबैभन्दा भरपर्दा र निर्णायक खेलाडीका रूपमा स्थापित भएका छन् ।

विश्वकप, युरोपियन च्याम्पियनसिप, यूईएफए नेसन्स लिग तथा विश्वकप छनोट प्रतियोगितामा उनले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका सर्वाधिक गोलकर्तामध्ये आफ्नो नाम दर्ज गराएका छन् ।

तीव्र गति, विपक्षी खेलाडीलाई सहजै छल्ने ड्रिब्लिङ, तीव्र आक्रमण, दुवै खुट्टाबाट गोल गर्ने क्षमता, खाली स्थानको प्रभावकारी उपयोग तथा निर्णायक अवसर सिर्जना गर्ने कलाका कारण एम्बाप्पे विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक मानिन्छन् ।

प्रकाशित मिति: २०२६-०७-१० , समय : १०:४५:०८ , १ घन्टा अगाडि