जलविद्युतको सुरुङमा फसेकाहरुको उद्धारको प्रयास चल्दै

रुपन्देही खबर , ४४  पटक हेरिएको

तस्वीर : प्रधानमन्त्री सचिवालय

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको उद्धारको प्रयास भैरहेको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिस भैरहेको छ ।

अविरल बाढी र पहिरोले आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्कविच्छेद भएपछि सेनाको हेलिकप्टरमार्फत स्काभेटर र प्राविधिक टोली आयोजनास्थलमा पुर्‍याएर बाटो खोल्ने र क्षेत्र सफा गर्ने काम निरन्तर भइरहेको छ । प्राविधिकहरूका अनुसार पानी बग्ने गरी करिब ३० देखि ४० मिटर चौडाइमा माटो र गेग्रान खनेर हटाएपछि मात्र टनेलभित्र मानिस छिर्न सक्ने अवस्था बन्नेछ ।

३ वटा स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भागसम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिसलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उद्धार टोलीले सुरुङभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ ।

यस्तै, त्रिशूली–३ बी आयोजनास्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोलीले घटनास्थलको भौगोलिक र प्राविधिक अवस्थाको निरीक्षण गर्दै उद्धारको काम अघि बढिरहेको जानकारी सरकारले दिएको छ ।

त्यसैगरी, लाङटाङ र चिलिमे जलविद्युतको सुरुङमा पनि खोजी भएरहेको छ । रसुवागढी जलविद्युत आयोजनाबाट हराइरहेका ९३ जनाको खोजी पनि भैरहेको सरकारले जनाएको छ । कुन आयोजनाको सुरूङमा कति फसेका छन् भन्ने यकिन तथ्यांक आइसकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन् । त्यसमध्ये पाँचसय भन्दा धेरै सुरुङमा फसेका अनुमान छ ।

प्रकाशित मिति: २०२६-०८-३१ , समय : ११:४६:५४ , १ घन्टा अगाडि