रुपन्देही खबर , ३४५ पटक हेरिएको
भैरहवा, असोज २६
नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको संयुक्त बैठकले चुनावी तालमेलका आधारमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन मातहतका पार्टी कमिटी र कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । मंगलबार भैरहवामा बसेको एमाले, राप्रपा र जसपा रुपन्देहीको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनका लागि तीन दलबीच तालमेल भएको भन्दै बैठकले आ–आफ्ना पार्टी कमिटी, कार्यकर्ता, शुभेच्छुक, समर्थक सम्पूर्णलाई चुनावी तालमेलका आधारमा तय गरिएका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेको हो ।
तीन दलबीच भएको चुनावी तालमेलका आधारमा रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनका लागि साझा उम्मेदवार तय गरिएको बैठकपछि एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणा र जसपाका जिल्ला अध्यक्ष रामअवतार यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जसअनुसार रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा उम्मेदवार छन् भने प्रदेशसभा १ (१) मा आशिष चौधरी र १ (२) मा दधिराम न्यौपाने उम्मेदवार छन् । त्यस्तै रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा विष्णु प्रसाद पौडेल उम्मेदवार छन् भने प्रदेशसभा २ (१) मा लिला गिरी र २ (२) मा भोजप्रसाद श्रेष्ठ उम्मेद्वार छन् ।
त्यस्तै रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३.मा दीपक बोहोरा उम्मेदवार छन् भने प्रदेशसभा ३ (१) मा महेन्द्र यादव र ३ (२) मा तुलसी प्रसाद चौधरी उम्मेदवार छन् । त्यसै गरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा ओमप्रकाश यादव (गुल्जारी) उम्मेदवार छन् भने प्रदेशसभा ४ (१) मा सुनिल गिरी र ४ (२) मा रामअवतार यादव उम्मेदवार छन् । त्यस्तै रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा वासुदेव घिमिरे उम्मेदवार छन् भने प्रदेशसभा ५ (१) मा भूमिश्वर ढकाल र ५ (२) मा रामचन्द्र यादव उम्मेदवार छन् ।
खबरपात्रो
प्रकाशित मिति: २०२२-१०-१२ , समय : १४:०१:११ , २ वर्ष अगाडि