हृदयश त्रिपाठीलाई सहयोग गर्न नवलपरासीबाट एमालेको उम्मेदवारी फिर्ता

हरि शर्मा , ३७०  पटक हेरिएको

परासी,असोज २६

पूर्वमन्त्री हृदयश त्रिपाठीलाई सहयोग गर्न एमालेले उम्मेदवारी फिर्ता लिएको छ। त्रिपाठीले नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिनु भएको छ।

मनोनयन दर्ताको दिनसम्म त्रिपाठी र एमालेका शीर्ष नेताबीच तालमेल गर्नेबारे छलफल भएको थियो। छलफलका क्रममा एमालेका नेताहरुले त्रिपाठीलाई गत चुनावजस्तै एमालेको चुनाव चिन्ह लिएर लडेमा सहयोग गर्ने बताएका थिए। तर त्रिपाठीले नमानेपछि मनोनयन दिनको अन्तिम समयमा एमालले प्रतिनिधिसभाकी समानुपातिक सदस्य रहेकी सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार उठाएको थियो।

२०७४ सालको चुनावमा त्रिपाठीले एमालेको चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। आफ्नै दल दर्ता रहेकाले त्रिपाठीले एमालेको चिन्हबाट चुनाव लड्न अस्वीकार गरेको बताइएको छ। उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म त्रिपाठीले एमालेका शिर्ष नेताहरुमार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल हुनु भएको हो ।

त्रिपाठीले आफैँ अध्यक्ष रहेको जनता प्रगतिशिल पार्टी (जप्रपा)को चुनाव चिन्ह (कोदालो बोकेको मान्छे) बाट उम्मेदवारी दिनु भएको छ। एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले केन्द्रको निर्देशनअनुसार एमालेले उम्मेदवारी फिर्ता लिएको बताउनु भएको छ ।

‘जप्रपाले हामीलाई सहयोग गर्ने र हामीले उहाँहरुको पार्टीलाई सहयोग गर्ने सहमति भएकाले उम्मेदवारी फिर्ता लिएका हौं,’ बस्यालले भन्नु भयो। एमालेको उम्मेदवारीपछि तनावमा रहनु भएको त्रिपाठीलाई उक्त पार्टीको उम्मेदवारी फिर्तासँगै चुनावी प्रतिस्पर्धामा सहज भएको जिल्लाको राजनीति वृत्तमा चर्चा हुन थालेको छ।

जिल्लाका २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा त्रिपाठीको दलबाट उहाले मात्रै उम्मेदवारी दिनु भएको छ । त्रिपाठीको दलले अन्यमा उम्मेदवार उठाइएको छैन। त्यस क्षेत्रमा अब नेपाली कांग्रेसबाट उम्मेदवारी दिनु भएको डलर अर्बपति विनोद चौधरी र त्रिपाठीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति: २०२२-१०-१२ , समय : १९:५५:५६ , २ वर्ष अगाडि