रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

रुपन्देही खबर , ३६६  पटक हेरिएको

भैरहवा,असोज ३०

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । एकीकृत समाजवादी पार्टीका नेता गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । तर गुरुङले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभइ आफू शेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै गएकाे बिहीवार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

यसैबीच कांग्रेस नेता विजयकुमार गच्छादारसहित नाै जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्च अदालतले जनाएको छ । 

प्रकाशित मिति: २०२२-१०-१६ , समय : १८:३८:१६ , २ वर्ष अगाडि