रुपन्देही खबर , २३२ पटक हेरिएको
भैरहवा, मंसिर १
पूर्व गृहमन्त्री निरञ्जन थापाले निर्वाचनको बेला सत्ताको दुरुपयोग भएको बताउनु भएको छ । उहाले प्रहरी प्रशासनले सबैलाई समान रुपमा हेर्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले, राप्रपा र जसपाले बिहीबार भैरहवामा आयोजना गरेको चुनावी सभामा बोल्दै थापाले सियारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अरुण शाहीको पार्किङ गरी राखिएको सवारीसाधनको खानतलासी दादागिरी शैलीमा गरिएको बताउनु भएको छ । उहाले भन्नु भयो,‘म पूर्व गृहमन्त्री भएकाले सचेत गराउन चाहन्छु, प्रहरी प्रशासनले तल माथि गर्नुहुँदैन, गैरकानूनी कार्य गर्नुुहुँदैन । ’
उहाले पाँचदलीय गठबन्धन सरकार पुनः बने मुलुक अस्तव्यस्त बन्नुका साथै आर्थिक संकटमा जाने दावी गर्नु भएको छ । नेता थापाले प्रधानमन्त्री बनाउन नसक्नेले के गर्छ भन्दै प्रश्न गर्नु भएको थियो । नेपाली कांग्रेसले पनि तीनदलीय तालमेलका उम्मेदवारलाई मत दिने उहाले दावी गर्नु भएको छ ।
उहाले बैंक ब्याजदर बढ्यो भनेर सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट दिनु भनेको बढ्दो ब्याजदरलाई समर्थन गर्नु भएको बताउनु भएको छ । नेता थापाले रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (१)मा महेन्द्र यादव र ३ (२)मा तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतका साथ जिताउनुपर्ने बताउनु भएको छ । मुलुकमा २ खर्ब रुपैयाँ हराएको उहाले बताउनु भएको छ । वर्तमान सरकारले महंगी बढाएको र आफ्नो मान्छे भर्ती गर्ने काम मात्रै गरेको उहाले बताउनु भयो ।
त्यस्तै नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज खिमलाल भट्टराईले नेपाली कांग्रेस र माओवादीबाट मुलुकको विकास सम्भव नभएको बताउनु भएको छ । उहाले मुलुकले एमालेको नेतृत्व खोजिरहेको बताउनु भएको छ । उहाले एमाले नेतृत्वमा सरकार हुँदा मुलुकमा धेरै राम्रो काम भएको दावी गर्नु भएको छ।
उहाले भैरहवाको विकासको पर्यायवाची र भैरहवाको धर्तीपुत्र दीपक बोहराको बारेमा जनताले राम्रोसँग बुझेको बताउनु भएको छ । उहाले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले तीनदलीय तालमेललाई निर्वाचन जित्नबाट कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ । उहाले कांग्रेसका उम्मेदवारले हामीलाई जिताउनुस् काम गर्छौ भनिरहँदा सरकारमा भएका बेला काम गर्न कसले रोक्यो भन्दै प्रश्न गर्नु भएको थियो । दीपक बोहरालाई उम्मेदवार बनाएर आफूहरुले कांग्रेसका लागि अझ सहज बनाइदिएको बताउनु भएको छ । उहाले भन्नु भयो ,‘दीपक बोहरालाई २०७४ सालमा कांग्रेसले समर्थन गरेर उम्मेदवार बनाएको थियो, तर त्यतिबेला बोहराजी जित्न सक्नुभएन अहिलेको निर्वाचनमा कांग्रेसलाई यो अवसर मिलेको छ ।’
जसपा केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले यसपटक जनताले झुटो आश्वासन दिने उम्मेदवारलाई मत नदिने बताउनु भएको छ । उहाले मंसिर ४ गतेको न्यायाधिश जनता भएको बताउनु भयो ।
राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले दीपक बोहराले गरेको कामहरुबारे यहाँको जनताले राम्रोसँग बुझेको बताउनु भएको छ । जसपाका नेता सियाराम यादवको अध्यक्षता, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको स्वागत तथा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२२-११-१७ , समय : २१:३०:०५ , २ वर्ष अगाडि