आठौं लुम्बिनी राष्ट्रिय महोत्सवमा आजबाट भ्वाइस अफ भैरहवा सुरु हुँदै

रुपन्देही खबर , २०८  पटक हेरिएको

भैरहवा, २४ मंसिर

आठौं लुम्बिनी राष्ट्रिय महोत्सवमा आज (शनिबार) बाट भ्वाइस अफ भैरहवा प्रतियोगिता सुरु हुँदैछ । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट भैरहवाको अंचलपुरमा सुरु भएको महोत्सवको मुख्य आकर्षणमध्येको भ्वाइस अफ भैरहवा सुरु हुन लागेको हो ।

आज दिनभर विविध सांस्कृतिक कार्यक्रम समाप्तीसँगै बेलुका ६ बजेबाट भ्वाइस अफ भैरहवा सांगीतिक प्रतियोगिता सुरु हुने संघका सचिव एवं सांस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले बताउनु भएको छ ।

अघिल्लो हप्ता सम्पन्न अडिसनबाट ३२ जना प्रतिष्पर्धीमध्ये २१ जना अन्तिम चरणका लागि छनौट भएका छन् । आजदेखि उनीहरुबीच महोत्सवस्थलमा प्रतिष्पर्धा हुनेछ । प्रत्येक दिनको कार्यक्रमबाट प्रतियोगिता नियमअनुसार केही प्रतियोगी बाहिरिने छन् र अन्तिममा उत्कृष्ट पाँच बीच अन्तिम प्रतिष्पर्धा हुनेछ । त्यहीबाट चौथो भ्वाइस अफ भैरहवा छनौट हुनेछन् ।

भ्वाइस अफ भैरहवाको छनौटको एक आधार प्रवेश टिकटमा आफ्नो रोजाइको गायकको सिम्बोल लेखि भोटिङ गर्ने पनि हो । नयाँ प्रतिभाहरुको खोजी, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पुस ४ गतेसम्म संचालन हुन लागेको महोत्सवमा ‘भ्वाइस अफ भैरहवा’ को आयोजना गरिएको हो ।

प्रधान प्रतियोगिताबाट नयाँ प्रतिभा उजागर हुने मात्रै नभइ भविष्यमा राष्ट्रियस्तरमै प्रभाव राख्न सक्ने कलाकारहरु उत्पादन हुने विश्वास व्यक्त गर्नु भएको छ । उद्योग वाणिज्य संघले महोत्सवको अवसरमा आयोजना गर्न लागेको ‘भ्वाइस अफ भैरहवा’ चौथो सिजन हो । यसअघि आयोजित तीनवटा संस्करणमा क्रमश : स्वेच्छा ठकुरी, सुवास लुइटेल र भूपेन्द्र थापा मगर विजयी भएका थिए ।

 
पहिलो सिजन विजेता ठकुरी राष्ट्रिय कलाकारका रुपमा स्थापित भइसकेकी छन् । उनले दर्जनौं गीत बजारमा ल्याइसकेकी छन् । ‘ठकुरीका धेरै गीत लोकप्रिय भएको हामीले पाएका छौं’, प्रधानले भने । भ्साइस अफ भैरहवाका लागि छनोट प्रक्रिया पनि सकिएको छ । शनिबार भैरहवामा सम्पन्न छनोटमा २१ जना स्थानीय प्रतिभाहरु छनोट भइसकेका छन् ।

संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले भैरहवा र यस आसपासबाट राम्रा, आवाजका धनी र नयाँ कलाकारहरुको खोजी गर्नका लागि भ्वाइस अफ भैरहवा कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । ‘यो कार्यक्रमले भोलिका दिनमा पनि नयाँ प्रतिभाहरुलाई गीत–संगीततर्फ आकर्षित गर्ने छ, जसले भैरहवाको पहिचानलाई थप उचाईमा पुर्याउने छ ।’

मेला प्रचार–प्रसार समिति उपसमिति संयोजक कृष्ण प्रसाद घिमिरेले भ्वाइस अफ भैरहवाले मेलास्थलमा दर्शकको आगमनलाई बढाउने बताउनु भएको छ । ‘यो कार्यक्रम यस क्षेत्रमा विगतदेखि नै निकै लोकप्रिय छ, यसपटक दर्शक तान्न र मेलालाई गुल्जार बनाउन थप टेवा पुग्ने हाम्रो विश्वास छ’, उहाले भन्नु भयो । उहाले कार्यक्रमको उद्देश्य नै सुरिलो आवाजको खोजी रहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-१२-१० , समय : १४:०४:४६ , १ वर्ष अगाडि