नेपथ्य ब्याण्डले आज बुटवलमा आफ्नो लाईभ कन्सर्ट गदैं

रुपन्देही खबर , ३४५  पटक हेरिएको

बुटवल , पुस ९

मानवसेवा आश्रमको सहयोगार्थ देश दौडाहामा रहेको नेपथ्य ब्याण्डले आज बुटवलमा आफ्नो लाईभ कन्सर्ट गदैंछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा नेपथ्य ब्यान्डको लाईभ कन्सर्ट हुने भएको हो ।

६ जना कलाकारका साथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो । टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गर्नु भएको थियो ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको छ । ६ हजार सहभागीहरु अट्ने गरि मैदानको व्यवस्थापन गरिएको अधिकारीले बताउनु भएको छ ।

खेल मैदानको क्षमतालाई मध्यनजर गर्दै बुटवलको कन्सर्टका लागि ६ हजार थान टिकट मात्र वितरण गरिएको मानव सेवा आश्रमकी केन्द्रीय सचिव सुशिला केसीले बताउनु भएको छ ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताउनु भयो । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

आज अपरान्ह ४ बजेबाट ८ बजे सम्म नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको प्रस्तुती रहने आयोजकले जनाएको छ । आज बिहानै रियाजमा जुटेका गुरुङ दिनभरी मौन ब्रत बसेर ४ बजे स्टेजमा प्रस्तुत हुने नेपथ्यले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-२४ , समय : ०८:५७:१७ , २ वर्ष अगाडि