रुपन्देही खबर , २१३ पटक हेरिएको
भैरहवा, पुस २१
घटना १
२०७५ सालको भाद्र महिनामा पाल्पा जिल्लाको रामपुर नगरपालिका घर भएकी एक अर्धवैशे महिलाले कतारमा रहेका श्रीमानसँग इमोमा कुराकानी हुँदै गर्दा श्रीमानश्रीमतीबीच सामान्य विषयमा दुबै जनाले निम्नस्तरको भाषा शब्द प्रयोग गरी एक आपसमा झगडा गरेपछि अचानक ती महिला आवेशमा आई साथमा रहेका दुई छोराहरू (४ वर्ष र २ वर्ष) लाई सुतिरहेकै अवस्थामा ढोकाको चुकुल भित्रबाट लगाई सलले घाटीमा पाँसो लगाई घरको छानो अड्याउन राखेको बलोमा पाँसो लगाई श्रीमानलाई भिडियो कल गरि भिडियो अन गरेर झुण्डिएर आत्महत्या गरिन् ।
घटना २
२०७९ सालको असार महिनामा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं १ घर भएकी एक महिलाले विदेशमा रहेका श्रीमानसँग इमोमा भिडियो कल गरि कुराकानी गर्दै गर्दाको अवस्थामा सामान्य विषयमा अचानक झैझगडा भएपछि “अब म झुण्डिएर मर्छु भनी” कल डिस्कनेक्ट गरेपछि निज श्रीमानले अत्तालिँदै गाउँकै एक जना भाईलाई आफ्नो घरमा गएर हेर्न अनुरोध गरेपछि निज उक्त घरमा जाँदा महिलाले भित्रबाट ढोकाको चुकुल लगाई आत्महत्या गरिसकेको थिइन् । निज तथा निज महिलाको बहिनी र गाउँले समेतको प्रयासमा निजहरुले ढोका फुटाली “बाँची पो हाल्छ की” भनी पाँसोबाट निज महिलालाई हतारहतार निकाली हेर्दा महिलाको मृत्यु भैसकेको रहेछ ।
घटना ३
२०७५ सालको श्रावण महिनामा पाल्पा जिल्लाको रामपुर नगरपालिका केलादी घर भएकी मजदुरी गर्दै आएकी एक महिला दिनभर आफ्नै श्रीमानसँग ज्याला मजदुरी गरि घर फर्कने क्रममा घर नजिकको होटलमा दुबै जनाले मादक पदार्थ सेवन गरेपश्चात घरमा आई खाना कसले पकाउने विषयमा विवाद हुँदा निज महिला घरको अर्को कोठामा गई तरकारी खेतीमा हाल्न भनी ल्याएको किरा मार्ने विषादी सेवन गरी अशक्त भए पश्चात् निजलाई उपचारको लागि अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
माथि उल्लेखित घटनाहरु त आत्महत्याका केवल प्रतिनिधि घटनाहरु मात्र हुन् । मानिसले प्राण त्याग गर्ने कुरालाई सामान्य र हल्का रूपमा लिन थालेको कारण यस्ता घटनाहरु दैनिक रूपमा घट्ने गरेका छन् । जीवन कति मूल्यवान छ भन्ने कुराको हेक्का राख्न छाडेकै कारण आत्महत्याका घटनाहरु हुने गरेका छन् । सामान्य विषयमा आफ्नो भावावेषलाई नियन्त्रण गर्न नसक्दा यस्ता प्रकृतिका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । पछिल्लो समयमा सामाजिक संजालको दुरुपयोगको कारण पनि आत्महत्याका घटनाहरुमा वृद्धि भएको पाइन्छ । नेपाल लगायत विश्वका हरेक देशमा अहिले सबैभन्दा डर लाग्दो समस्याको रूपमा रहेको आत्महत्याको विषयलाई लिएर आज सबै देशहरू चिन्तित बनेका छन् ।
खासगरी मानिसको मस्तिष्कमा सकारात्मक र नकारात्मक दुबै सोच रहेको हुन्छ । सकारात्मक सोचमा परिवर्तन आई कुनै परिवेश, घटना विशेषलाई लिई त्यही विषयमा निरन्तर मानसिक उल्झन गरि उक्त समस्या समाधान गर्न असमर्थ भएको कारण अथवा अब यो समस्यालाई म कुनै पनि हालतमा समाधान गर्न सक्दिन भन्ने नकारात्मक र निरासावादी सोच मनमा पैदा भई सो को कारण आफ्नो जीवनप्रति नै अत्यन्त घृणा भाव महसुस गरी अस्वभाविक रूपमा मृत्यु वरण गर्नुलाई आत्महत्या भनिन्छ ।
मानिसले समस्यालाई दुई प्रकारले लिएको हुन्छ । एउटा सरल र अर्को कठिन । सरल समस्यालाई उसले आफ्नो साथीभाइ र साथीहरूसँग सेयर पनि गर्दछ र त्यसको तत्काल समाधान पनि हुन्छ । किनभने समस्यालाई सेयर गर्दा सहज तरिकाले त्यसको समाधान पनि निस्कन्छ । तर कठिन खालका समस्यालाई उसले आफन्तजन तथा साथीहरुलाई सेयर गर्दैन । किनकी उसले पहिले नै कल्पना गरिसकेको हुन्छ की यो समस्यालाई सेयर गर्नु ठिक हुदैन । जुन सेयर गरेमा समाजमा उसको बेइज्जती हुने वा अपगाल आउने हुन सक्छ भन्ने उसलाई लागिरहेको हुन्छ । समस्या समाधान हुन नसकेको कारण मन अशान्त हुन्छ र भित्रभित्रै नैराश्यताले उसमा जरा गाड्न थाल्छ । अन्ततोगत्वा उसले उक्त समस्याको समाधान केवल मृत्यु नै हो भन्ने ठान्छ र सहजै मृत्युवरण गर्दछ ।
कतिपय अवस्थामा मानिसलाई आत्महत्या गर्न बाध्य पनि बनाईएको हुन्छ । नेपालमा खासगरी तराईका जिल्लाहरूमा दाइजोको कारण धेरै महिलाले आत्महत्या गरेर मृत्युवरण गरेको कारण २०७४ सालमा बनेको मुलुकी अपराध संहिता ऐनमा कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न हुँदैन र त्यसो गरेमा दुरुत्साहन गरेको ठहर छ भन्ने कुरा उल्लेख गरेको छ । खासगरी तराईका बुहारीहरुलाई दाइजो नल्याईएको निहुँमा सासू ससुरा तथा श्रीमान एवम् घरका अन्य परिवारद्वारा शारीरिक तथा मानसिक रुपमा प्रताडित गरी आत्महत्या गर्न बाध्य बनाएको कारण धेरै महिलाहरुले अकालमा मृत्युवरण गर्ने गरेको घटनालाई निरुत्साहित, नियन्त्रण र रोकथाम गर्न यो प्रावधान ल्याइएको कुरा नकार्न सकिदैन तर पछिल्लो समयमा सामाजिक संजालमा साथी बनी निजको उक्त फेसबुक एकाउन्ट ह्याक गरी कुनै तरहले प्राप्त गरेका निजका अश्लील फोटो तथा भिडियोहरु पोस्ट वा सेयर गर्ने गरेको कारण समाजमा बेइज्जती हुने डरले आत्महत्या गर्ने गरेका घटनाहरुमा बढोत्तरी हुन थालेको छ । जुन कुरालाई अत्यन्त गम्भीर रूपमा लिनु पर्ने आवश्यकता रहेको छ ।
यसै तथ्यलाई मनन गरी नेपाल सरकारले मुलुकी अपराध (संहिता) ऐन २०७४ मा आत्महत्या सम्बन्धि विषयलाई पहिलोपटक कानुनी दायरामा ल्याएको छ । उक्त ऐनको परिच्छेद १२ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ । उक्त ऐनको दफा १८५ विरुद्ध कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँ सम्म जरिवाना हुनेछ भन्ने कुरासमेत ऐनमा उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर करिब आठ लाख मानिसहरूले आत्महत्या गरी मर्ने गर्दछन । हरेक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्दछ भने प्रत्येक ४० सेकेन्डमा १ जनाको आत्महत्याको कारण मृत्यु हुने गर्दछ । विश्वभरमा हुने गरेका आत्महत्याका घटनाहरुलाई हेर्ने हो भने प्राय पुरुषहरूको तुलनामा महिलाहरूले बढी आत्महत्या गर्दछन् । आत्महत्याको दर गृहणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ । आत्महत्या गर्ने विश्वमा रहेका देशहरूको तुलनामा नेपाल तेह्रौं स्थानमा रहेको छ । प्रायः गरेर १५ वर्षदेखि ४५ वर्षको उमेरकाहरुले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसमा पनि खासगरी सहारा बिहिन, निको नहुने रोगले ग्रसित र पिडादायी रोगको बिरामी (६० वर्षदेखि माथि) भएकाहरूले पनि पीडासँग संघर्ष गर्न नसकी आत्महत्या गर्ने गरेको पाइन्छ ।
नेपालमा पछिल्लो समयमा युवाहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा जाने र बुहारीहरु गाउँमा नबसी छोराछोरी पढाउन भनी सहरमा बस्ने गरेको कारण वृद्धवृद्धाहरु सहारा बिहिन भई जिन्दगीदेखि विरक्तताको अनुभूति गरि आत्महत्या गर्ने गरेका छन् । कतिपय अवस्थामा बुढ्यौलीसँगै विभिन्न रोगले ग्रसित रहेको र भरपर्दो उपचार गर्ने गराउने मानिस नरहेको कारण पिडाबाट मुक्ति पाउनको लागि आत्महत्या गर्ने गरेको पनि पाइन्छ ।
“म मेरो बोलिलाई सकारात्मक राख्दछु किनभने मेरो बोलीबाट मेरो व्यवहार बन्दछ, म मेरो व्यवहार सकारात्मक राख्दछु किनभने व्यवहारबाट मेरो जीवन मूल्य बन्दछ, म मेरो जीवन मूल्य सकारात्मक राख्दछु किनभने मेरो जीवन मूल्यबाट मेरो भविष्य बन्दछ” भारतीय महान नेता महात्मा गान्धीले जीवनको बारेमा उल्लेख गरेको उद्गारले जीवनको वास्तविकता छर्लङ्ग पार्दछ । वास्तवमा खुशी या सुख पाउन भनेर काम गरेमा जीवनमा खुशी कहिलेइ आउदैन । बरु तनाव हुन्छ । किनभने मानिसले जहिले पनि आशातित परिणामभन्दा बढी महत्त्वकांक्षा राखेको हुन्छ । जसले गर्दा उसमा खुशी प्राप्त नहुन सक्छ तर खुशीकासाथ काम गर्यो भने निश्चित रुपमा खुशी भई सफलता प्राप्त हुन सक्छ ।
समाजमा विभिन्न कारणहरुले गर्दा मानिसले आत्महत्या गर्ने गरेको पाइन्छ । यसका प्रमुख कारणहरुमा लैंगिक तथा घरेलु हिंसा, पारिवारिक बेमेल, झैझगडा, खिचातानी, शारीरिक तथा मानसिक तनाव, डिप्रेसन, लामो समय निको नहुने दीर्घ रोग लाग्नु, सोचे, चाहे अनुसारको काम नहुनु/नबन्नु, नतिजामुखी परिणाम नआउनु, प्रेममा धोका खानु, प्रेम सम्बन्धलाई परिवार र समाजले बैध्यता नदिनु, सामाजिक बहिष्कार, अवहेलना, बेरोजगार, गरिबी, अशिक्षा, सामाजिक संजालको गलत प्रयोग गर्नु र अनावश्यक महोत्वकांक्षा लिनु आदि पर्दछन ।
आत्महत्या जस्तो जटिल समस्या समाधान गर्नको लागि कानुन निर्माण मात्र बलियो आधार हुन सक्दैन । यसको लागि व्यापक रूपमा जनसहभागितासहित सचेतनामूलक कार्यक्रमहरु संचालन गर्नु आवश्यक रहन्छ । साथै स्थानीय रूपमा यसको लागि सरोकारवालाहरुको सहकार्यमा विद्यार्थी र समाज लक्षित सचेतनात्मक कक्षाहरु पनि संचालन गर्नु उपयुक्त हुन्छ । यसको अलावा व्यक्तिगत रूपमा आफैले विभिन्न उपायहरु अवलम्बन गर्न सकेमा पनि आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । जस्तै एकान्तमा बस्ने बानी नगर्ने, असफलतालाई लिएर अनावश्यक तनाव नलिने, हरपल आफूलाई ब्यस्त राख्ने प्रयास गर्ने, नकारात्मक सोच मस्तिष्कमा आउन नदिने, झैझगडा गर्ने र रिसाहा स्वभाव नगर्ने, सामाजिक संजालको दुरुपयोग नगर्ने, कसैलाई पनि आफ्नो सोसियल मिडियाको पासवर्ड सेयर नगर्ने, सुख र दुखलाई समान रूपमा लिने लगायतका कार्यहरू गर्न सकेको खण्डमा यस्तो विचार मनमा आउनबाट बच्न सकिन्छ । कुनै पनि असफलतामा नैराश्यता आउन नदिनु जीवनको लागि अत्यन्त महान कार्य मानिन्छ ।
यसलाई नियन्त्रण वा न्यूनीकरण गर्ने कार्य एकल प्रयासबाट मात्र कदापि सम्भव हुन सक्दैन । सामाजिक उत्तरदायीत्त्व अन्तर्गत जिम्मेवारी निकायबाट सामूहिक प्रयास गरेको खण्डमा पनि यसलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न सकिन्छ । जस्तै : महिला शिक्षा तथा सशक्तीकरण अभियानको संचालन गर्ने, वैदेशिक रोजगारीलाई निरुत्साहित गरि रोजगारी सिर्जना गर्ने, घरेलु लैंगिक र असमान व्यवहार तथा हिंसा नगर्ने, पारिवारिक मेलमिलाप राख्न प्रयास गर्ने, झैझगडा र खिचातानी हुन नदिने, सबैलाई समान व्यवहार (परिवार, समाज र विद्यालय) गर्ने, कसैलाई पनि सामाजिक बहिष्कार नगर्ने, सामाजिक सद्भाव कायम गर्ने लगायतका कार्यहरू गर्न सकेमा यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
त्यसैगरी घटना न्यूनीकरणको लागि नगरपालिका, गाउँपालिका, वडा कार्यालय, अन्य सरकारी तथा गैरसरकारी एवम् सामाजिक संघसंस्था, विद्यालय तथा क्याम्पसहरुसमेतको सहयोग तथा समन्वयमा विभिन्न चेतनामूलक प्रशिक्षण कार्यक्रमहरुको संचालन गर्ने, गाउँघर तथा टोलटोलमा घरदैलो कार्यक्रम संचालन गर्ने, असाहाय, गरिब, निमुखा र अशिक्षितहरुलाई नि:शुल्क र परोपकारी भावले सहयोग गर्ने, योग तथा ध्यानकेन्द्रहरु संचालन गर्ने, युवायुवतीलाई दुर्व्यवसनीबाट टाढा राख्न चेतनामूलक कार्यक्रम संचालन गर्न सकेमा पक्कै पनि नेपालमा बढ्दो रूपमा रहेको आत्महत्याको विकराल अवस्थालाई केही हदसम्म भएपनि न्यूनीकरण गर्न सकिन्छ ।
हामीले देखेका छौँ समाजका धेरै प्रतिष्ठित मानिस तथा राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाएका धेरै मानिसहरुले पनि सहज तरिकाले आत्महत्याको बाटो रोजेका छन् । त्यसमा कतिले परिबन्ध वा दुरुत्साहनको कारणले पनि गरेका हुन सक्छन् । तर जीवनको यथार्थतालाई नबुझेर संघर्षको बाटो त्यागेर जीवन विसर्जन नै अन्तिम सत्य हो भन्ने ठानी अल्पायुमै आत्महत्याको बाटो रोज्नुलाई कदापि उचित मान्न सकिदैन । नेपाल तथा भारतका कतिपय नायक नायिकाहरुले पनि सहज तरिकाले आत्महत्याको बाटो रोजेको हामीले सुनेका छौँ । भलई त्यसका पछाडि दुरुत्साहनको कारण पनि हुन सक्छ । तर कानुनी उपचार हुने अवस्था हो भने कानुनी उपाय अवलम्बन गरि पीडाबाट मुक्त भई जीवन सार्थक बनाउन पर्नेमा विसर्जन गर्नुलाई कसैगरी पनि उचित कार्य मान्न सकिदैन । व्यक्ति, समाज तथा अन्य सरोकारवाला निकायहरू बिचम सहकार्यकासाथ कार्यक्रम संचालन गरेर समाजको तल्लो तहसम्म सूसुचित गर्न सकेको खण्डमा पक्कै पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा आशा गर्ने ठाउँ बाँकी रहन्छ ।
(लेखक : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक हुनुहुन्छ)
प्रकाशित मिति: २०२३-०१-०५ , समय : १९:४५:५० , २ वर्ष अगाडि