नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगती गर्न नसकेको चलचित्र बिकास बोर्डका अध्यक्ष : भुवन केसी

रुपन्देही खबर , २७५  पटक हेरिएको

भैरहवा ,चैत १७

चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले प्रयाप्त अधिकारको अभावमा आफूले चाहेर पनि नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगती गर्न नसकेको गुनासो गर्नु भएको छ । बाहिरबाट हेर्दा बिकास बोर्डले काम गर्न नसकेको देखिए पनि काम गर्नका लागि प्रर्याप्त अधिकार प्राप्त नहुनु नै वास्तविकता रहेको उहाले उल्लेख गर्नु भएको छ ।

नेपाली फिल्म क्षेत्रमा ४ दशक लामो अनुभव बटुल्नु भएको केसीले केही गर्ने सोचका साथ आफू बिकास बोर्डमा आएपनि बाहिरबाट देखिएको र वास्तविकतामा धेरै फरक रहेको बताउनु भएको छ । ‘बिकास बोर्डमा खासै धेरै अधिकार छैन, केही पनि अधिकार छैन ।’- केसीले भन्नु भयो , ‘हामीले धेरै निर्णय गरेर अघि बढायौं तर, मन्त्रालयमा जान्छ त्यहाँबाट स्टप हुन्छ ।’

रुपन्देहीको भैरहवामा शुक्रबारदेखि सुरु भएको गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर “जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन” विषयक ३ दिने कार्यशालाको उद्घाटन समारोहमा बोल्दै केसीले यस्तो बताउनु भएको छ । नेपाली चलचित्र क्षेत्रको बिकासका लागि हाल रहेका कानूनहरु निकै पुरानो रहेको बताउँदै उहाले अब ती कानूनहरुले सबै कुरालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नु भएको छ ।

चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै केसीले बोर्डले नयाँ कार्यविधि तयार पारेर अघि बढाएको उल्लेख गर्नु भयो । उक्त कार्यविधि पारित भएपछि चलचित्र क्षेत्रका धेरै समस्याहरुको समाधान र बिकासमा सहयोग पुग्ने उल्लेख गर्नु भयो । 

भैरहवामा आयोजित कार्यशालामा सिने पत्रकारिता क्षेत्रमा लामो समय कलम चलाएका विश्व बस्नेत, प्रकाश सायमी, नेपाल चलचित्र निर्देशक समाजका अधयक्ष जनकदिप पराजुली, कथाकार विक्रमभक्त जोशी लगायतको प्रस्तुती रहने छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : २१:२६:०९ , १ वर्ष अगाडि