लुम्बिनी प्रदेशमा पाँच दल बाहेकका अन्य दलसंग गठबन्धन गर्न नपाईने सत्ता गठबन्धनको निर्णय

रुपन्देही खबर , ८९१  पटक हेरिएको

चैत २८ बुटवल

सत्ता गठबन्धनका पाँच दलको लुम्बिनी प्रदेश स्तरको संयन्त्रले ५ दल बाहेक अन्य कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छन् । गठबन्धनको आज बसेको बैठकले गठबन्धन भित्रका ५ दल बाहेक अन्य दलहरुसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशभरी गठबन्धन भित्रैबाट संयुक्त प्रचार प्रसार समिति गठन गर्ने निर्णय गर्दै प्रदेशभरीका निर्वाचन गतिबिधिलाई अनुगमन गर्न समिति समेत गठन गरेको छ । गठबन्धनको बैठक पछि जारी प्रेस विज्ञप्तिमा बिगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धी गणतन्त्र प्रतिगमनका कारण धरापमा परि सकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेको बैठकले ठहर गरेको जनाइएको छ ।

आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता बढ्दै गइहेको समेत बैठकले निष्कर्ष निकालेको छ । संयुक्त गतिबिधि अनुगमन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट लुमकान्त न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी एकीकत समाजवादीबाट अशोक कोइलारा, जनता समाजवादी पार्टी अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहेको विज्ञप्तिमा जनाइएको छ ।

  1. बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनमगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलमको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: २०२२-०४-११ , समय : २२:४३:५७ , ३ वर्ष अगाडि