rupandehi khabar , ४८४ पटक हेरिएको
भैरहवा, असार ५
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताउनु भएको छ । रिपोर्टर्स क्ल्ब नेपाल लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा आइतबार भैरहवामा भएको सुशासनका लागि साक्षरता कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताउनु भएको हो ।
उहाले सरकारले किसानलाई समयमै रासायनिक मल पनि दिन नसक्ने र सीमापारी भारतबाट मल ल्याउँदा प्रहरीले समात्ने किसानको गुनासो रहेकाले समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ । अध्यक्ष यादवले रोहिणी गाउँपालिकामा अधिकांश नागरिक कृषि पेशामा आबद्ध भएको र समयमा मल नपाउँदा निकै नै समस्या भएको गुनासो गर्नु भएको छ ।
जनतालाई नजिकबाट सेवा दिदै र गुनासो सुन्दै सल्लाह सुझाव लिएर अघि बढेको उहाको भनाइ छ । उहाले जनताको काम छिटोछरितो गर्ने प्रयास गर्दागर्दा केही प्रक्रियागत कारणले ढिला हुने गरेको बताउनु भएको छ । अध्यक्ष यादवले जनतालाई सकेसम्म छिटोछरितो सेवा दिन तत्पर रहेपनि कहिलेकाहीं केही समय लाग्ने भएको हुदा जनताले जनप्रतिनिधिप्रति आक्रोश पोख्ने गरेको बताउनु भयो ।
अहिले विभिन्न पालिकामा फोहोरमैला व्यवस्थापनको समस्या रहेकोले यसलाई व्यवस्थित गर्न पालिकाहरु मिलेर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताउनु भयो । रोहिणी गाउँपालिकाले प्रशासकीय भवन, १० शैयाको अस्पताल र क्याम्पस निर्माणका निम्ति लागिपरेको उहाले जानकारी दिनु भयो । सुशासन कायमका लागि सर्वप्रथम आफूबाट सुरु गर्नुपर्ने र इमान्दार बन्नुपर्ने उहाको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०६-२० , समय : २०:०७:१८ , १ वर्ष अगाडि