जसपा रुपन्देहीको जिल्ला भेला भैरहवामा सम्पन्न, अध्यक्षमा सियाराम यादव

रुपन्देही खबर , ९६९  पटक हेरिएको

भैरहवा, असार ७

जनता समाजवादी पार्टी नेपाल रुपन्देहीको अध्यक्षमा सियाराम यादवलाई चयन गरीएको छ । आज जसपा रुपन्देहीले भैरहवामा आयोजना गरेका जिल्ला भेलाबाट यादवको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरीएको हो । जसको उपाध्यक्षमा नवल किशोर सिंह, कलामुद्दीन खाँ, सुशिला चौधरी र सचिवमा विष्णु अधिकारी रहनु भएको छ । त्यस्तै जिल्ला उपसचिवमा कमाल अख्तर फकिर, राम अवध गुप्ता, राजकुमार लोध र कोषाध्यक्षमा सुनिता खडुलक रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा पुजा चौधरी, गौतम यादव, रामबिलास जयसवाल, सन्त प्रसाद बरई, बुद्धिराम केवट, कमल बुढा, दिपक गुरुंग, हरिशंकर हलुवाई, मुना गूरुंग, तौलेश्वर लोध, जयशंकर पाठक, कुुसुम मल्लाह, बाबुराम पाल लगायत रहनु भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि जसपा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारले २०८४ को निर्वाचनमा जसपालाई पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताउनु भएको छ । उहाले पार्टीमा इमान्दारिता आवश्यक रहेको जोड दिनु भएको छ । उहाले जसपा कसैको रहरले नभइ मुलुकको आवश्यकताले जन्मिएको पार्टी भएको दावी गर्नु भयो । उहाले जसपा रुपन्देहीको नयाँ नेतृत्व तथा टीमले पार्टीलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै गरी भेलालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीमा नेतृत्वको भूमिका अझ महत्वपूर्ण रहने बताउनु भएको छ ।उहाले २०७४ मा रुपन्देहीमा जसपा दोस्रो दलको रुपमा स्थापित भए जस्तै पार्टीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनु भयो ।

जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विगतको निर्वाचनमा सोचेअनुरुप परिणाम ल्याउन नसकिएको बताउनु भएको छ । उहाले जसपाले बोकेको एजेण्डामा मुलुक चलिरहेको दावी गर्नु भयो । उहाले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिदै जसपालाई बलियो बनाउन एकसाथ अघि बढ्नुपर्ने बताउनु भयो।

जसपा रुपन्देहीका निवर्तमान अध्यक्ष रामअवतार यादवले पार्टीलाई अझ बलियो बनाउने गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले सबैको सल्लाह–सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

जिल्ला उपाध्यक्ष नवल किशोर सिंहको स्वागत मन्तब्य रहेको कार्यक्रमा पार्टीका युवा नेता तथा राजनीतिक समिति सदस्य मनिकर कार्की, केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन जसपा रुपन्देहीका सचिव विष्णु अधिकारीले गर्नु भएको थियो । कार्यक्रम पार्टीका केन्द्रिय सदस्य एवम जिल्ला भेला समितीका संयोजक महेन्द्र यादवको अध्यक्षता तथा जसपा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-२२ , समय : १८:०८:२४ , ९ महिना अगाडि