सियारी गाउँपालिकाको बजेट साढे ६१ करोड भन्दा बढी

रुपन्देही खबर , ३१०  पटक हेरिएको

भैरहवा, असार १०

रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु ४ करोड, राजश्व बाँडफाँडतर्फ स्थानीय राजश्व बाँडफाँडबाट रु. ६ करोड ७५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट रु. ४० लाख ५३ हजार ६ सय ३० र संघीय राजश्व बाँडफाँडबाट रु. ९ करोड ४७ लाख ८३ हजार २ सय, संघीय सरकार वित्तीय हस्तान्तरणबाट रु ३८ करोड ३ लाख र प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट रु. २ करोड ८३ लाख ९५ हजार आउने अनुमान गरिएको छ ।

आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट रु. २ करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडातर्फका विभिन्न योजना तथा कार्यक्रमहरुमा रु. ३ करोड ४४ लाख ८० हजार गरी जम्मा रु ५ करोड ६० लाख १९ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताउनु भएको छ । चालु आर्थिक २०७९÷८० को संशोधित बजेट ७४ करोड १७ लाख ६ हजार रहेकोमा हालसम्म चालुतर्फ ७५.५२ प्रतिशत र पूँजीगततर्फ ६५.२५ प्रतिशत गरी समग्रमा ७१.१२ प्रतिशत बजेट खर्च भएको उनले बताइन् । गत आ.व.को यसै अवधीमा पुँजीगततर्फ ५३.५६ प्रतिशत तथा चालुतर्फ ६४.१३ प्र्रतिशत गरी समग्रमा ५९ प्रतिशत बजेट खर्च भएको उहाले जानकारी दिनु भएको छ । चालु आ.ब.का विकास योजनाहरु धेरैजसो निर्माण सम्पन्न भई भुक्तानी भइसकेको उहाको भनाइ छ । बाँकी रहेका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न भई भुक्तानी प्रकियामा रहेको उहाले बताउनु भएको छ ।

समयमै कर तिर्नु नागरिकको कर्तव्य हो भने गुणस्तरीय विकास प्राप्त गर्नु अधिकार हो भन्ने मान्यताका साथ आ.व.२०८०÷०८१ लाई कर संकलनको वर्षको रुपमा घोषणा गरी कर तिर्ने प्रक्रियालाई सरलीकरण गर्ने, अनलाइन माध्यमबाट कर तिर्ने प्रणालीको विकास गर्ने तथा विभिन्न घुम्ती टोलीमार्फत कर संकलन गर्ने व्यवस्था मिलाइने उपाध्यक्ष थारुको भनाइ छ ।
आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै कृषि, पर्यटन र दीगो पूर्वाधारयुक्त नगरी ः समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी निर्माण गर्ने दीर्घकालिन सोच पुरा गर्ने उद्देश्यका साथ आ.व. २०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको उहाले बताउनु भएको छ ।

कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गराउन व्यवसायिक तथा साना कृषकहरूलाई दुध उत्पादन, माछा तथा मकै खेतीमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्न रु. ८५ लाख विनियोजन गरेको उपाध्यक्ष थारुले जानकारी गराउनु भएको छ ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-२५ , समय : २१:०८:४४ , १ वर्ष अगाडि