जनमतका सचिव यादवलाई पार्टीले कारबाही गरेपछि कार्यकर्ता आक्रोशित

रुपन्देही खबर , ११३७  पटक हेरिएको

भैरहवा, साउन ६

जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवलाई कारबाही गरेपछि कार्यकर्ता र समर्थकहरू आक्रोशित भएका छन । पार्टीले यादवलाई कारबाही गरेपछि कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन । गुटबन्दी गरेको भन्दै केन्द्रीय सचिवालयको बैठकले यादवलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो ।

यादवले लुम्बिनी प्रदेशमा संगठन बलियो बनाउन सिके गुप्तालाई साथ दिएपछि पछिल्लो समयमा गुटबन्दी गरेको केन्द्रीय अनुशासन समितिका प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यादवलाई निलम्बन गर्ने निर्णय भएलगत्तै पार्टीको केन्द्रीय नेतृत्वसँगै पश्चिम मधेस रुष्ट बनेको छ ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियाका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा विरोध गरेका हुन । बर्दिया घर भएका जनमत पार्टीका केन्द्रीय सदस्य मान्साराम यादवले कारबाही गर्नु गलत भएको बताउनु भएको छ । उहाले सामाजिक सञ्जालमा लेख्दै अनुशासनको नाममा व्यक्तिगत स्वतन्त्रता हनन गर्न नपाइने बताउनु भयो ।

शिक्षक जनमत संघका केन्द्रीय सदस्य रामदेव यादवले भोपेन्द्र यादव पार्टीमा संगठन बनाउन सक्ने, लामो समयदेखि काम गरेको भएपनि केन्द्रले किन कारबाही ग¥यो भन्ने आफूहरू अलमलमा परेको बताउनु भएको छ ।

उहाले भन्नु भयो ,भूपेन्द्रको केन्द्रीय अध्यक्षसँग पनि राम्रो सम्बन्ध थियो संगठन पनि राम्रो बनाउने काम भएको थियो । किन कारबाही गरे म आफै अचम्म छु । मंसिरमा भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ प्रतिनिधिसभामा उठेका यादव लोसपाका सर्वेन्द्र नाथ सुक्लासँग पराजित भएका थिए ।

स्वतन्त्र मधेस गठबन्धनदेखि जनमत पार्टीसम्मको एघार वर्षको यात्रामा यादवले डा सिके राउतलाई सधैँ साथ र सहयोग गर्दै आएका थिए । यादवले पार्टीले आयोजना गरेका विभिन्न आन्दोलनहरूमा दर्जनौँ पटक जेल जिवन बिताए पनि कारबाहीबारे आफ्नो कुनै प्रतिक्रिया नरहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०७-२२ , समय : २३:१४:४० , ५ महिना अगाडि