रुपन्देहीको मझगावाँ मर्चवारको मुख्य शहरको रुपमा बिकास हुदै

रुपन्देही खबर , ४६१  पटक हेरिएको

मर्चवार, साउन २१

कोटहीमाई गाउँपालिकाले मझगावाँलाई मर्चवारको मुख्य शहरको रुपमा बिकास गर्ने भएको छ । मझगावाँको आसपासका सडकहरु, सडक पेटी, नाली सहित फराकिलो गरी बिकास निर्माण कार्य सुरु गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बाल कृष्ण त्रिपाठीले बताउनु भएको छ ।

शहरी विकास मन्त्रालयसंग समन्वय गरी ल्याइएको करीब ३ करोडको लागतमा सडक संरचनाबाट निर्माण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिनु भएको छ । मझगावाँको कृषि विकास बैंक देखि कोटहीमाई गाउँपालिकाको सभाहल सम्म २२ फिट चौडाईको आरसीसी सडक सहित दुबै तर्फ ४–४ फिट नाली समेत निर्माण कार्य सुरु गर्न लागेको अध्यक्ष त्रिपाठीले जानकारी दिनु भयो । यसैगरी मझगावाँको मुख्यचोक वडा नंम्बर ५ को कार्यालय देखि बैरघाट सम्म १८ सय मिटर भन्दा बढी कालोपत्रे सडक सहित नाली तथा सडक पेटी समेत निर्माण हुने अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसीउद्दीन खाँले आफुले निर्वाचान भन्दा पहिला गरेको वाचा पुरा भएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘म लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्री हुँदा शहरी विकास मन्त्रालयबाट पहल गरी ल्याएको हुँ , मझगावाँलाई शहर बनाउन १ अर्ब ६१ करोडको डिपिआर भएको छ । अहिले पहिलो चरणको काम सुरु भएको छ भने ४–५ चरणमा काम पुरा हुने छ ।’ मझगावाँमा रहेको सम्पूर्ण सरकारी कार्यालयहरुको संरचना नयाँ तरिकाले विकास गर्ने प्रदेश सभा सदस्य खाँले बताउनु भएको छ । यसैगरी कोटहीमाई ७ तिनकोनियामा आधुनिक पार्क समेत बनाउने र केही दिनमा टेन्डर आहवान हुने खाँनले जानकारी दिनु भयो ।

मझगावाँलाई शहरको रुपमा विकास गर्ने योजनाबारे जानकारी दिदै कोटहीमाई गाउँपालिका वडा नंम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनीले शहरलाई आवश्यक अन्य भौतिक संरचनाहरु पनि क्रमशः निर्माण गर्दै जाने बताउनु भएको छ । आउने दिनमा सार्बजनिक शौचालय, उचित पार्कीङ्गको ब्यवस्था, स्वच्छ खानेपानीको ब्यवस्था, फोहोरको ब्यवस्थापन लगायत सार्बजनिक ठाउँको सुन्दरीकरणका योजना निर्माण गरी कार्य गर्ने वडाध्यक्ष सैनीले बताउनु भयो । उहाले मझगावाँ क्षेत्रमा रहेको अन्य कार्यालय पनि ब्यवस्थित बनाउन समन्वय गर्ने बताउनु भयो ।

शहरी विकास मन्त्रालयबाट आएको उक्त बजेट दर्शन मालिका बिल्डर्स प्रा.लि.संग सम्झौता भएको निर्माण कम्पनीको सुपरभाइजर केशव केसीले जानकारी दिनु भएको छ । यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी निर्माण कार्य ३ दिनभित्र सुरु गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ । काम गर्ने सडकको छेउमा निर्माण भएका अन्य संरचनाहरुको ब्यवस्था नहुँदा कार्यमा ढिलाई भएको निर्माण कम्पनीका सुपरभाइजर केसीले जानकारी दिनु भयो । उहाले ‘सडकको चौडाई भित्र पर्ने अन्य संरचनाको एकीन भइसकेको र गाउँपालिकाले त्यसलाई हटाउन सूचना समेत टाँस गरेको जानकारी दिनु भयो ।

मर्चवारवासीहरुलाई सेवा दिने उद्देश्यले मझगावाँमा ईलाका प्रशासन कार्यालय, ईलाका मालपोत कार्यालय, ईलाका नापी कार्यालय, क्षेत्रीय विद्युत कार्यालय, मर्चवार लिफ्ट सिँचाई, जल उपभोक्ता संस्थाको कार्यालय, आँखा अस्पताल, सुरक्षा निकाय लगायत विभिन्न बैंंक तथा वित्तीय संस्थाहरु सहित विभिन्न साना तथा ठुलो ब्यवसायीक प्रतिष्ठानहरु रहेका छन भने मर्चवारको पहिलो बहुमुखि क्याम्पस पनि मझगावाँमा रहेको छ ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : २१:२८:०० , ७ महिना अगाडि