हरि शर्मा , १६८ पटक हेरिएको

परासी,जेठ २५
नवलपरासीको रामग्राम नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ। व्यवसायलाई अनलाइन प्रणालीमा व्यवस्थित गर्नका लागि अभियान सञ्चालन गरिएको हो।
घरदैलोमार्फत सञ्चालन गरिएको अभियानमा व्यवसायको दर्तासँगै नवीकरण कार्यलाई समेत अघि बढाइएको नगरपालिका राजस्व उपशाखाकी प्रमुख निर्मला प्रजापतिले बताउनु भएको छ।व्यवसायीहरू नगरपालिका आउनुपर्ने बाध्यतालाई अन्त्य गरी घरमै बसेर व्यवसायको नवीकरण र कर बुझाउनका लागि सहज बनाउन अनलाइन प्रणालीमा तथ्यांक राख्नका लागि अभियान सञ्चालन गरिएको हो। यो अभियानमा लामो समयदेखि व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूले नवीकरण गराएका छैनन’, प्रजापतिले भन्नु भयो।
अभियानले पाँच लाखभन्दा कम पुँजी भएका व्यवसायहरू लाभान्वित भएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा ७० ठूला उद्योगसहित तीन हजार दुई सय पसल व्यवसाय सञ्चालनमा छन्। अहिलेसम्म झन्डै एक हजार छ सय पसल, व्यवसायहरू नवीकरण र करको दायरामा आएको राजस्व उपशाखा प्रमख प्रजापतिले बताइन्। अभियानमार्फत सबै व्यवसायीहरू अनलाइन प्रणालीमा आबद्ध हुने नगरपालिकाले विश्वास लिएको छ।
अभियानले व्यसायीहरुलाई सहज हुनुका साथै नगरपालिकाको आन्तरिक राजस्व संकलनको लक्ष्य पूरा गर्न पनि मद्दत मिल्ने लेखा अधिकृत सञ्जय शर्माले बताए। चालु आर्थिक वर्षमा नगरपालिकाले सात करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म पाँच करोड २८ लाख संकलन भएको लेखा अधिकृत शर्माले बताए। गत वर्ष छ करोड लक्ष्य लिएकोमा छ करोड ५२ लाख राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ।
प्रकाशित मिति: २०२५-०६-०८ , समय : १८:५२:४७ , ३ हप्ता अगाडि