रुपन्देही खबर , ७२ पटक हेरिएको
काठमाण्डौ,माघ २९
स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको १ लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको हो । उहाँले बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रुपैयाँ बराबरको योगदान बराबर ५ जना परिवारले पाउने वार्षिक कूल १ लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो ।
बोर्डले २५ हजार रुपैयाँको ओपीडी सेवा र ७५ हजार रुपैयाँको अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ६ जना परिवारसम्मका लागि ३ हजार ५ सय रुपैयाँ बराबरको योगदानका आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
यस्तै, थप प्रतिसदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । बोर्डले अनावश्यक रूपमा हुने ओपीडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले त्यही अनुसार प्रयोग गर्न पनि बोर्डले आग्रह गरेको छ ।
स्वास्थ्य बीमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपीडी सेवामा नै खर्च भइरहेको छ । बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बीमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपीडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग–अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २०२६-०२-१२ , समय : ०९:२९:१० , ३ घन्टा अगाडि