चन्द्रमामा पुग्ने चीनको तयारी तीव्र

एजेन्सी , ८८  पटक हेरिएको

तस्वीर : एजेन्सी

चैत १२

चन्द्रमामा मानिस पुर्‍याउने लक्ष्यसहित चीनले आफ्नो अन्तरिक्ष कार्यक्रम तीव्र गतिमा अघि बढाएको छ । सन् २०३० सम्ममा चन्द्र अवतरण, त्यसपछि चन्द्र आधार निर्माण र अन्ततः मङ्गल ग्रहसम्म पुग्ने चीनको योजनाले अमेरिकाको परम्परागत अन्तरिक्ष वर्चस्वलाई चुनौती दिन थालेको विशेषज्ञहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् १९९२ मा शुरू भएको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अहिले परिपक्व चरणमा पुगेको मानिन्छ । सन् २००३ मा पहिलो मानवयुक्त उडानपछि चीनले अहिलेसम्म झन्डै १५ वटा यस्ता मिसन सफलतापूर्वक सञ्चालन गरिसकेको छ । त्यसमध्ये कुनै पनि प्रक्षेपण दुर्घटनामा परेको छैन । आफ्नै टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा अहिले तीन जना चिनियाँ अन्तरिक्षयात्री रहेका छन् ।

चन्द्र अवतरणका लागि सन् २०२६ मा नयाँ मेङ्झाउ अन्तरिक्षयान परीक्षण हुनेछ भने लङ मार्च–१० रकेट तथा लान्यु ल्यान्डरको विकास पनि अन्तिम चरणमा पुगेको छ ।

रुससँगको सहकार्यमा सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी पनि भइरहेको छ जहाँ पानीको सम्भावना भएकाले वैज्ञानिक तथा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

अस्ट्रेलियाका प्राध्यापक रिचर्ड डे ग्रिजकाअनुसार उच्च राजनीतिक प्रतिबद्धता र दीर्घकालीन निरन्तर लगानीका कारण चीनको अन्तरिक्ष कार्यक्रम पश्चिमी देशहरूको तुलनामा बढी पूर्वानुमानयोग्य र प्रभावकारी रहेको छ ।

प्रकाशित मिति: २०२६-०३-२६ , समय : १९:४८:५० , ३ घन्टा अगाडि