रुपन्देही खबर , ७२ पटक हेरिएको
रुपन्देही, जेठ १
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन तथा सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिको पद रिक्त रहेको अवस्थामा विश्वविद्यालयको दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उहाँलाई उक्त जिम्मेवारी दिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३ जेठ ३० गतेको निर्णय बमोजिम डा. शाक्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ।
विश्वविद्यालयको नियमित कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ। सरकारले अध्यादेश ल्याएपछि विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको थियो। त्यसपछि विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिन डा. शाक्यलाई जिम्मेवारी दिइएको हो।
डा. शाक्य लामो समयदेखि बौद्ध अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ विश्वविद्यालयका विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संलग्न रहँदै आउनुभएको थियो। यसअघि पनि विश्वविद्यालयका विभिन्न कार्यक्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयका रूपमा परिचित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध दर्शन, संस्कृति, भाषा तथा अनुसन्धानसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको छ।
प्रकाशित मिति: २०२६-०५-१५ , समय : २१:१८:१५ , २ घन्टा अगाडि