रुपन्देही खबर , २१ पटक हेरिएको
काठमाण्डौ,असार २५
अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किएसँगै मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कारबाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कडा जवाफ दिइने चेतावनी दिनुभएको छ ।
अमेरिकी आक्रमणपछि इरानका दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ । इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबाबमा नपर्ने र आवश्यक परे दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ । मध्यपूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ७९ दशमलव २६ अमेरिकी डलरसम्म पुगेको छ ।
विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजमा तनाव बढ्दा विश्व ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने विश्लेषकहरूको भनाइ छ । यसको प्रभाव विश्व वित्तीय बजारमा पनि देखिएको छ । युरोप, अमेरिका र एसियाका प्रमुख शेयर बजारहरूमा उल्लेख्य गिरावट आएको छ ।
यसअघि अमेरिका र इरानबीच पटक पटक युद्ध रोक्ने र दीर्घकालीन समाधान खोज्ने उद्देश्यले अप्रत्यक्ष शान्तिवार्ताहरु भएका थिए ।
मध्यस्थकर्ताको भूमिकामा केही क्षेत्रीय देशहरू सहभागी भएका थिए । वार्तामा युद्धविराम, इरानको आणविक कार्यक्रम, अमेरिकी प्रतिबन्ध तथा हर्मुज जलमार्गको सुरक्षालगायत विषयमा छलफल भएको थियो । प्रारम्भिक रूपमा दुवै पक्षले केही समयका लागि आक्रमण रोक्ने र वार्ता जारी राख्ने सहमति गरेका थिए । तर वार्ताबाट ठोस राजनीतिक सहमति हुन सकेन । त्यसपछि हर्मुज जलमार्ग क्षेत्रमा जहाजमाथि भएका आक्रमणका घटना, एक अर्कामाथि आरोप–प्रत्यारोप र अमेरिकी हवाई आक्रमणपछि तनाव फेरि बढ्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रभावहीन भएको घोषणा गरेपछि दुवै पक्षबीच सैन्य गतिविधि पुनः तीव्र बनेको छ ।
प्रकाशित मिति: २०२६-०७-०९ , समय : १०:२१:४१ , १५ घन्टा अगाडि