रुपन्देही खबर , ४१ पटक हेरिएको
परासी, कार्तिक १९
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुधबार एक कार्यक्रमबीच भवन उद्घाटन गर्नु भएको हो । नयाँ भवन निर्माण भएसँगै वडाबाट प्रवाह हुने प्रशासनिक सेवा थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
भवन उद्घाटन गर्दै नगरप्रमुख यादवले नागरिकको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर नगरपालिकाले विकास निर्माणका योजना सञ्चालन गरिरहेको बताउनु भएको छ। निर्वाचित भएपछि जीर्ण अवस्थामा रहेका वडा नम्बर ९, १५ र १६ का वडा कार्यालय निर्माण तथा सेवा प्रवाहलाई सहज बनाउने कामलाई प्राथमिकता दिएको उहाले उल्लेख गर्नु भयो ।
नगरप्रमुख यादवले रामग्राम नगरपालिकाको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको रामग्राम स्तूप र पण्डितपुर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको बताउनु भयो । पर्यटकको बसाइ लम्ब्याउने र स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने उद्देश्यले होमस्टे तथा अतिथि सत्कारका संरचना निर्माण भइरहेको उहाले जानकारी दिनु भयो । ध्यान केन्द्र र गेस्ट हाउस निर्माणका लागि २५ देखि ३० करोड रुपैयाँसम्म लगानी गर्ने योजना रहेको उहाको भनाइ थियो।
त्यस्तै, नगरपालिकाको आफ्नै परिसरमा करिब साढे ६ करोड रुपैयाँको लगानीमा रंगशाला निर्माण गरिएको र नगरका विभिन्न गाउँ तथा चोकमा सडक बत्ती जडानका लागि करिब तीन करोड रुपैयाँ विनियोजन गरिएको उहाले बताउनु भयो ।
शिक्षा क्षेत्रको सुधारका लागि पाँच हजार विद्यार्थीलाई लक्षित गरी नियमित विद्यालय उपस्थित हुने विद्यार्थीलाई दैनिक १० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको यादवले जानकारी दिनु भयो । उक्त कार्यक्रमका लागि करिब ८० लाख रुपैयाँ खर्च गरिएको उहाले बताउनु भयो । कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूको पठनपाठनलाई निरन्तरता दिन १८ लाख रुपैयाँ शुल्क सहयोगका लागि छुट्याइएको तथा लोकसेवा तयारी गर्ने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरिएको उहाले उल्लेख गर्नु भयो ।
कृषि क्षेत्रको विकासका लागि ५० भन्दा बढी सिँचाइ बोरिङ निर्माण गरिएको, किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन बाँध तथा अन्य पूर्वाधार निर्माणका काम अघि बढाइएको पनि उहाले बताउनु भयो । खानेपानी समस्या समाधानका लागि रामग्राम नगरपालिका र खानेपानी डिभिजनबीच करिब १८ करोड ३६ लाख रुपैयाँको योजनासम्बन्धी सम्झौता भएको जानकारी दिँदै उहाले वडा नम्बर १५ र १६ मा खानेपानी सुविधा विस्तार गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर १६ का वडाध्यक्ष विजयकुमार यादवले स्वास्थ्य र शिक्षालाई वडाको प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको बताउनु भयो । स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारले मात्रै समाजको समग्र विकासमा योगदान पुग्ने उहाको भनाइ थियो।
उहाले वडाका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरी शैक्षिक गुणस्तर सुधार गर्ने प्रयास भइरहेको बताउनु भयो । विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन विद्यालय र अभिभावकसँग समन्वय गरिएको उल्लेख गर्दै उहाले हकुई र जमुनियामा रहेका स्वास्थ्य संस्थालाई सक्रिय बनाइएको जानकारी दिनु भयो । जमुनियामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय महिलालाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम भएको उहाले बताउनु भयो ।
वडाध्यक्ष यादवले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा वडाका विभिन्न गाउँमा सडक तथा अन्य पूर्वाधार निर्माणका काम अघि बढाइएको पनि उल्लेख गर्नु भयो
वडा कार्यालय भवन निर्माणका लागि २०८२ साल जेठ २१ गते ठेक्का सम्झौता भएको थियो। योजनाका लागि १९ लाख ९९ हजार २२५ रुपैयाँ १७ पैसा बजेट विनियोजन गरिएकोमा एस।ए।। कन्स्ट्रक्सन, रामग्राम–२ ले १४ लाख ३२ हजार १२८ रुपैयाँ ७५ पैसा ९भ्याटसहित० मा निर्माण सम्पन्न गरेको वडा सचिव कमलराज शर्माले जानकारी दिनु भयो । निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको उहाले बताउनु भयो ।

कार्यक्रममा हेमन्तकुमार पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलका बलिराम यादव र वडा सदस्य दीपक चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन ज्ञानप्रकाश यादवले गर्नु भएको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: २०२६-११-०५ , समय : ०९:५७:४६ , ५७ मिनेटutes अगाडि