कपिलवस्तुको कृष्णनगरमा नमुना मतदान सम्पन्न

रुपन्देही खबर , ७८८  पटक हेरिएको

कपिलवस्तु, कार्तिक २७

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा रहेको महेंद्र माध्यमिक विद्यालयमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका दश वटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार कृष्णनगर नगरपालिकामा भएको बताइएको छ ।

मतदानको क्रममा नगरपालिकाको वडा नं ३ कृष्णनगर स्थित महेन्द्र माध्यमिक विद्यालय छेउछाउमा प्रहरीहरू राखिएका थिए । म्यादी प्रहरीहरूले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमूना मतदान गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाइनमा केही मानिसहरूलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरूले डोरी टाँगिएको लाइनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए । नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि लगभग ५० जना महिला र पुरुष गरी सहभागी भएका थिए। मतदाताले विभिन्न चारवटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए ।
मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी ,जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका पदाधिकारीहरू, इप्रका कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय,सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति थियो। स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १९:४६:४३ , २ वर्ष अगाडि