रुपन्देही खबर , ३२९ पटक हेरिएको
भैरहवा, चैत २८
रुपन्देहीको कोेटहीमाई गाउँपालिकाले २०७९ सालको एसईई परीक्षामा सहभागी छात्राहरुलाई साइकल वितरण गरेको छ । छात्रालाई शिक्षा क्षेत्रमा सहयोग होस् भन्ने उद्देश्यले गाउँपालिकाभित्रका सामूदायिक विद्यालयका २ सय ३ जना छात्राहरुलाई साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी सापकोटाले जानकारी दिनु भएको छ ।
एसईईपछिको अध्ययनलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताउनु भयो । प्रत्येक घरको छोरीलाई विद्यालय र उच्च शिक्षाको पहुँचमा ल्याउन उक्त योजना लागू गरिएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । उनले ‘अहिले कक्षा १० सम्म अध्ययन गर्न आफ्नै वडाभित्र रहेको विद्यालयमा पुग्न सहज थियो तर कक्षा ११ देखिको माथिको पढाई अन्य वडामा जानुपर्ने भएकोले साइकलको अभावले कोही शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई साइकल वितरण गरेका छौँ ।’ भन्नू भयो । छोरीलाई प्रोत्साहन गर्न यस्तै छोरी जन्म प्रोत्साहन, छोरी विवाह प्रोत्साहन लगायत विभिन्न योजना ल्याइ कार्य अघि बढेको अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले हरेक घरको छोरीले समाज र आफ्नो भविष्यको लागि उच्च शिक्षा हासिल गरी शिक्षित बन्न गाउँपालिकाले विभिन्न योजनाहरु ल्याइरहेको बताउनु भयो । गाउँपालिकाभित्र रहेका हरेक छोरीलाई उच्च शिक्षा प्रदानको लागि गाउँपालिकाले विभिन्न योजना ल्याएको र त्यसमा अभिभावकको सहकार्य रहेको बताउनु भयो ।
यस्तै गरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विहानी कक्षा सञ्चालन भएको क्याम्पसमा छात्राहरुलाई समयमै पुग्नका लागि साइलकले धेरै सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ । सवारीसाधनको अभावले विद्यालय जान बाधा नहोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको श्रीवास्तवले बताउनु भयो ।
कोटहीमाई गाउँपालिकाभित्र रहेका श्री लालबिहारी माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, मर्यादपुर माध्यमिक विद्यालय, तुनिहवा माध्यमिक विद्यालय, मर्चवार आदर्श माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय र बोगडी माध्यमिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्रशासन सहायक मनोहर चौधरीले बताउनु भएको छ । यी सामुदायिक विद्यालयमा कक्षा १० मा भर्ना भएका २३२ जनामध्ये एसईई परीक्षामा सहभागी २०३ जना छात्रालाई साईकल वितरण गरिएको चौधरीले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२३-०४-११ , समय : १३:४८:१० , २ वर्ष अगाडि