तिलोत्तमा नगरपालिकाको न्यायिक समितिमा जग्गा बिवादको उजुरी बढी

उर्मिला यादव यात्री , ४२२  पटक हेरिएको

भैरहला असार १८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको न्यायिक समितिमा जग्गा बिवादको उजुरी बढी परेको छ । आर्थिक बर्ष २०७९ श्रावणदेखि २०८० असार १० गतेसम्ममा ६१ वटा उजुरीहरु दर्ता भएका छन । जसमध्ये सबैभन्दा बढी जग्गा बिवाद २६ रहेको छ । भने लेनदेन सम्बन्धमा १६ र घरायसी झैझगडा ८ वटा रहेका छन । बातावरण प्रदुषण १, अस्थायी शौचालय हटाउने सम्बन्धमा १ , सार्वजनिक बाटो मिची खिचलो गरेको १, सम्झौता अनुसार काम नगरेको २, छिमेकी संग झैझगडा , सम्झौता एकतर्फी रुपमा कार्यान्वयन नगरेको, कुलो बिवाद, मेरो नाममा रहेको जग्गा चलन चलाई पाउ , जेष्ठ नागरिकको पालन पोषण नगरेको, इज्जत आदम अनुसार खान लगाउन नदिएको १÷१ वटा उजुरी दर्ता भएका छन ।

न्यायिक समितिमा आएका ६१ वटा उजुरीमध्ये आर्थिक बर्ष २०७९ श्रावणदेखि २०८० असार १० गतेसम्म ३२ वटा विवादको निरुपण गरिएको नगर उप–प्रमुख एवं समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनु भएको छ । उहाले १० वटाको फैसला भएको र अदालतबाट जानकारी आएको १, प्रकियामा रहेका बिवादहरु १८ रहेको जानकारी दिनु भयो । संविधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ । न्यायिक समितिमा दर्ता भएका विवादहरुमा दुवै पक्षलाई छलफल गराइने भएकोले समितिमा दिनप्रतिदिन मुद्दाको चाप बढ्दै गएको नगरउपप्रमुख चौधरीको भनाई छ ।

‘स्थानीय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतालाई विश्वास छ, त्यसैले पनि मुद्दाको चाप बढ्दै गएको छ’, उप–प्रमुख चौधरीले भन्नु भयो । सानातिना विषयका मुद्दा लिएर अदालतमा जाँदा धेरै पैसा खर्च हुने भएकाले पनि न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको उहाले बताउनु भयो । न्यायिक समितिमा खासगरी जग्गाको साँध–सँधियार, अंशबन्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, लेनदेन, ठगी, कुटपिट लगायतका मुद्दा बढी आउने गरेका छन । समितिमा दर्ता भएका उजुरी उपर दुवै पक्षलाई बोलाएर छलफल गरी सकेसम्म मेलमिलाप गर्न प्रोत्साहन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइने उप–प्रमुख चौधरीले बताउनु भयो । न्यायिक समितिलाई आफ्नो क्षेत्राधिकारमा पर्ने विवादको कारबाही र किनारा कानुन बमोजिम र क्षेत्राधिकार बाहेकका मुद्दालाई मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ ।

प्रकाशित मिति: २०२३-०७-०३ , समय : १०:३७:५४ , १ वर्ष अगाडि