बालविवाह रोक्न सुस्ता गाउँपालिकामा ‘छोरी सुनौलो भविष्य कार्यक्रम’

उर्मिला यादव यात्री , १५८  पटक हेरिएको

नवलपरासी , असार १८

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर १ बरुवाकी २६ बर्षिय अमृता चौधरी २०८१ माघ ५ गते सुत्केरी भइन । उनी सुत्केरी भएको ३५ दिन भित्र नै छोरीको नाममा २५ हजार रुपैया खातामा जम्मा भए पछि उनी दंग परिन । ‘अपेक्षा नै नगरिएको कुरा स्थानीय सरकारबाट छोरी सुनौलो भबिष्य कार्यक्रम अन्र्तगत मुद्धती खातामा २५ हजार जम्मा हुदा उनको भने खुसीको सिमा नै छैन । कृषि पेशामा आबद्ध चौधरी एक सामान्य परिवारकी हुन । तर उनलाई भने आफनी छोरीलाई आत्मनिर्भर बनाउने सोच छ । उनी भन्छिन भर्खर त छोरी मायरा कुमारी चौधरी ६ महिनाको पुगीन तर छोरीलाई डाक्टर बनाउने सोच छ । सुस्ता गाउपालिकाले ल्याएको छोरी सुनौलो भबिष्य कार्यक्रम पाउदा एकदमै खुसी र भबिष्यको लागी ठुलो राहत भएको बताउछिन । उनी भन्छिन अब यही छोरीको भबिष्य राम्रो बनाउछु । अर्काे सन्तान भने पाउने सोच बनाएकी छैन ।

यस्तै गरी सुस्ता गाउपालिका वडा नम्बर ४ का राकेश केवटले ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ अन्र्तगत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने नीतिले हर्षित भएको बताए । ‘कतिपय परिवार त साँझबिहान खान नपुग्ने हुनुहुन्छ, साझ बिहानको छाक टार्न धौधौ भएको बेला कसरी छोराछोरीलाई उचित शिक्षा दिने चिन्ताले सताइरहने परिवारका लागी भने छोरी सुनौलो भविष्य कार्यक्रम बरदान नै भएको उनले बताए । उनले भने यसले भबिष्यमा धेरै राहत मिल्नेछ । पहिलो सन्तान छोरी हुदा कुनै सुबिधा नपाएका राकेश दोस्रो छोरी भएको बेला यो सुबिधा पाएका हुन । उनको छोरी रागिनी केवट जन्मेको ४५ दिन पुग्नै लाग्यो । सबै प्रक्रिया पुरा गरेर ३५ भित्र छोरीको नाममा रकम जम्मा भएपछि उनी छोरीको भबिष्यको लागी ढुक्क छन ।

यस्तै गरी सुस्ता गाउपालिका वडा नम्बर ५तरैनीकी अलिशा कुमारी श्रेष्ठको काखमा ५ महिनाको छोरी छिन । उनी पहिलो सन्तानको आमा हुन । सन्तान जन्माएको केही दिनभित्र नै उनको छोरी अंशिका श्रेष्ठको नाममा २५ हजार रुपैया जम्मा गरेपछि उनी भने मख्ख छिन । छोरीको शिक्षा दिक्षाका लागी गाउपालिकाले नै रकम जम्मा गरि दिएपछि उनलाई छोरीको भबिष्यको चिन्ता गर्न छोडेकी छन । उनी भन्छिन छोरीले राम्रोसंग पढन सके अर्काे देशमा राम्रो शिक्षाको लागी पठाउछु । यो कार्यक्रम एकदमै राम्रो लाग्यो र खुशी पनि लाग्छ । उनी भन्छिन गाउपालिकाले छोरीका लागी अवसर सिर्जना गरेको छ ।

‘छोरी सुनौलो भविष्य कार्यक्रम’ अन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने गरेको गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले बताइन । पालिकाले बालविवाह रोक्न र शिक्षामा अभिप्रेरित गर्नका लागि छोरी जन्मेपछि उसको नाममा २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको बताइन । तर गाउँपालिकाले केही शर्त राखेको छ । जसमा पालिकाले कार्यविधि नै बनाएर अगाडि बढेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष चौधरीका अनुसार छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइसक्नुपर्नेछ । त्यस्तै सुत्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार आठ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने, कक्षा १२ सम्म अध्ययन गराउनुपर्ने र दुई सन्तान मात्र भएको हुनुपर्नेछ ।

अध्ययन बाहेकका सर्त पूरा गरेपछि ४५ दिनभित्रै गाउँपालिकामा आमाबुबामध्ये एक जना संरक्षकले कागजात लिएर गाउँपालिकामा गएपछि पालिकाले खातामा २५ हजार रुपैयाँ जम्मा गरिदिन्छ । त्यो रकम २० वर्षपछि मात्र निकाल्न मिल्ने प्रावधानमा रहेको गाउँपालिका उपाध्यक्ष चौधरीले बताइन ।

सुस्ता गाउँपालिकाले हालसम्म ५ सय २० जना बालिकालाई २५ हजार सहितको बैङ्क खाता उपहार दिएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत तीन वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो ।
आर्थिक वर्ष २०७९। ८० देखि सुरु गरिएको उक्त कार्यक्रम मार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले हालसम्म त्यसप्रकारका बैंक खातामा १ करोड ३ लाख जम्मा भइसकेको जानकारी दिए ।

सुस्ता गाउपालिकामा बि.स. २०७९ साल साउन १ गतेबाट सुरु भएको छोरी सुनौलो भबिष्य कार्यक्रम अन्तर्गत आ.ब. २०७९ ,८० मा १८२ जना छोरीहरुको नाममा रकम जम्मा गरेको छ । यस्तै गरी आ.ब. २०८०, ८१ मा वडा नम्बर १ देखि ५ सम्ममा १६३ जना , आ.ब. २०८१, ८२ मा १७५ जना छोरीहरुको भबिष्य सुनिश्चित गरिएको छ । छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

‘यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ’, उहाँले भन्नुभयो्, ‘छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भुरूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो।’
उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैंक खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो । ‘छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैङ्क जाने गरेको पाएका छौँ’ उहाँले भन्नुभयो्, ‘छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ।’
सुस्ता गाउँपालिकाले छोरी सुनौलो भविष्य कार्यक्रम’ कार्यविधिमार्फत यसका लागि केही सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड पनि बनाएको छ। कार्यक्रमबाट सुविधा लिनका लागि गाउँपालिकाभित्र स्थायी बसोबास गरेका गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनुपर्ने छ।पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती छ । सुस्ता गाउँपालिकाले बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो ।

 

 

 

प्रकाशित मिति: २०२५-०७-०२ , समय : १०:१८:४२ , १ दिन अगाडि