पोखरभिण्डी मावि भटपुरवाको अध्यक्षमा कान्छा कोहार बिजयी

रुपन्देही खबर , ३०६  पटक हेरिएको

भैरहवा, फागुन ३

रुपन्देहीको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कान्छा कोहार निर्वाचित हुनु भएको छ । बिहीबार भएको निर्वाचनमा खुल्ला सदस्यमा शिव कुमार यादवले १३०, रिंकु हरिजनले १२७ र महिला सदस्यमा ममशिला कहाँरले १२५ र किरन भुज १२९ मतका साथ विजयी हुनु भएको छ ।

विजयी भएका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य शिव कुमार यादवको अध्यक्षतामा बसेको बैठकले कान्छा कोहार र फूलकुमारी कहारलाई मनोनित गरेको थियो । उक्त बैठकले कान्छा कोहारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उहा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।

विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा सम्बन्धित वडाका जनप्रतिनिधि र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । सोहीअनुसार विद्यालयको पदेन सदस्यमा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खान र सदस्य सचिवमा प्रधानाध्यापक राजकुमार चौधरी चयन हुनु भएको छ ।

अध्यक्षमा चयन भएका कोहारले विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपर्ने बताउनु भएको छ । उहाले विद्यालय व्यवस्थापन समितिले सुझाव, सल्लाह लिएर अघि बढ्ने बताउनु भएको छ ।

बिहीबार भएको निर्वाचनमा ३९४ जना मतदाता (अभिभावक) मध्ये ३५४ मत खसेको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समिति छनौट समिति–२०८० का संयोजक मधु प्रसाद घिमिरेले बताउनु भएको छ ।

निर्वाचनमा ३ वटा समूह (प्यानल)ले उम्मेदवारी दिएको थियो । जसअन्तर्गत दिलिप यादव समर्थित प्यानलबाट खुल्ला सदस्यमा राजेश नाउले ११३, फूलचन्द खरबिन्दले ११३, महिला सदस्यमा राजपति केवटले ११० र रीता खरबिन्दले ११२ मत प्राप्त गर्नु भएको छ । 

त्यस्तै कमरे आलम समर्थित प्यानलबाट खुल्ला सदस्यमा सुग्रिम खरबिन्दले ९६, बनारसी खरबिन्दले ९५, महिला सदस्यमा प्रतिमा चौधरीले ९२ र प्रभावति हरिजनले ९१ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-१५ , समय : १८:१३:३१ , ८ महिना अगाडि