लक्षित बर्गको तालिम: फेरिदै महिलाको जीवनस्तर

उर्मिला यादव , १९६  पटक हेरिएको

भैरहवा, बैशाख २०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवाकी लक्ष्मी पुरीलाई अहिले कामको चटारो छ । घरभान्सामा सिमित रहने उनी आजभोलीे जुत्ता–चप्पल बनाउन ब्यस्त छिन । आफनो खुट्टामा आफैं उभिने सोच भएपनि कुनै अवसर नपाउँदा उनलाई घरमै थन्किएर बस्नु पर्ने बाध्यता थियो । सिद्धार्थनगर नगरपालिकाद्धारा वडा न २ मा सञ्चालित एक महीने जुत्ता ÷चप्पलको तालिममा सहभागी भएपछि उनको दिनचर्या परिवर्तन भएको हो । ३१ बर्षिय पुरी समूहमा लेडिज आइटमका चप्पलहरु बनाउने गर्छिन । नगरपालिकाले मेसिन, फार्मा, हिटर लगायतका सामानहरु दिएपछि चप्पलका सोलको आइटम र कपडाहरु किनेर चप्पल बनाउँदै आएकी छिन् । सुरुमा तीन जना महिलाहरु मिलेर प्रति ब्यक्ति रु दुई हजारका दरले उठाएर छ हजार रुपैयामा चप्पलहरु बनाउन सुरु गरेको पुरीले बताइन । बनाइएका चप्पलहरु छिमेकी, साथी भाइहरुलाई बेच्दै आएको पनि उनले सुनाइन । चप्पलको डिजाइन अनुसार मुल्य निर्धारण गरेको र बजारको मुल्य भन्दा सस्तोमा बेच्दै आएको पनि उनले बताइन ।

अहिले उनी जुत्ता–चप्पल बनाउन ब्यस्त छिन । काम गर्न त्यती कठिन नभए पनि सोचे अनुरुप बजार पाउन नसक्दा ब्यापार गर्न भने गाहो भएको उनको अनुभव छ । भैरहवामा जुत्ता,चप्पलको फयाट्री नै धेरै भएकोले आफुहरुको उत्पादनले बजार पाउन नसकेको समेत उनले गुनासो पोखिन । थोरै लगानीमा चप्पल बनाउन सुरु गरे पनि एक बर्ष सम्म पैसा नबाडेर लगानी गर्ने सोच छ, उनको । तालिमले आत्मबलसँगै आत्मनिर्भरतातर्फ उन्मुख गराएको उनको बुझाई छ । अहिले समुहमा चप्पलहरु बनाएपनि पछि आफ्नै चप्पलको पसल खोल्ने सोच छ, उनको । आफनै खुट्टामा उभिन मन लाग्थ्यो, तर सीप थिएन । अहिले सीप सिकें, मैले सोचे जस्तै भयो– उनले मस्कुराउदै भनिन ।

यस्तै सिद्धार्थनगर–६ किशोरपुरकी बबी केसीलाई पनि भ्याई नभ्याई छ तर उनको ब्यस्तता भने केही फरक छ । ३० वर्षिया केसी तीजको लागि चुरा पोते बनाउनमै ब्यस्त छिन । केसी एउटा छोरीको आमा मात्र नभई एक बुहारी पनि हुन । बिहानै उठेर भान्साको काम सकी छोरीलाई विद्यालय पठाएपछि मात्र घरको कामबाट फुर्सद पाउँछिन । तालिमबाट धेरै कुरा सिक्न नपाएपनि अहिले युटुब हेरेर नयाँ नयाँ डिजाइनका चुरा र पोते बनाउदै आएको उनले खुलासा गरिन । केसीसँगै आशा गुरुङ पनि चुरा पोते बनाउँदै आएकी छिन । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सोही वडामा १५ दिने चुरापोते बनाउने तालिम लिएपछि उनीहरु दुबै जना मिलेर १५ सय लगानी गरेर चुरापोते बनाएर बेच्न थालेका हुन ।

घरको काम सकेर फुर्सदको समयमा मात्र चुरापोते बनाउदै आएको गुरुङले बताइन । मिहिनेत गरी बनाइएका चुराहरु जोडीको १५० देखि २५० र पोतेहरु एक सय रुपैयादेखि १५० रुपैया सम्म डिजाइन अनुसार बेच्दै आएको गुरुङले बताइन । सामान्य खालको पोते एक दिनमा २ देखि ३ वटा सम्म बनाउदै आएको र डिजाइन खालको एउटा पोते तीन दिनसम्म लाग्ने गरेको उनले बताइन । गत साउनमा हरियोे पोते बनाएर राम्रै आम्दानी गरेको उनीहरुको भनाई छ । सिप सिकेर आत्मनिर्भर हुन पाउदा दुबै जना खुसी पनि देखिन्छन । घरमै बनाउने अर्डर पनि आउन थालेको रहेछ । आम्दानी भएको रकम दुबै जनाले मिलेर बाडछौं र थप लगानी पनि गर्छौ –आपसी सहकार्यबारे केसीले भनिन । बजार ब्यवस्थापनमा नगरपालिकाले सहयोग गरिदिएको भए अझैं सहज हुने केसीको बुझाई छ ।
यस्तै सिद्धार्थनगर ३ की प्रेम कुमारी नेपालीको जिवन पनि अहिले फेरिएको छ । सिद्धार्थनगर नगरपालिका ३ बाट जुत्ता–चप्पल र अचार बनाउने तालिम लिएपछि नेपालीले सिकेको कुरा व्यवहारमै उतारेकी हुन । तालिम लिएका महिलाहरुलाई नगरपालिकाले समूहमा आवद्ध गराएपछि धेरैको दिनचर्या फेरिएको पनि छ । नेपाली अहिले सिर्जनशील लघु उद्यमी महिला समुहको अध्यक्ष पनि छिन । तालिममा सिकेको कुरालाई ब्यवसायिक रुपमा अगाडि बढाउन १६ जना महिलाहरु मिलेर समूह बनाइएको थियो । बि.स.२०७८ सालमा सिर्जनशील लघुउद्यमी महिला समुहको दर्ता गरिएको थियो । नेपालीकाअनुसार, प्रत्येक ब्यक्ति एक हजार रुपैयाको दरले लगानी गरेपछि अचार बनाउने, जुत्ता–चप्पल लगायतका सामानहरु बनाउँदै व्यवसाय शुरु गरिएको हो । नगरपालिकाको २०७९ सालमा सम्पन्न मेला÷ महोत्सवबाट ६० हजार भन्दा बढी आम्दानी गर्न सफल भएको नेपालीले बताइन । तालिम लिनु भन्दा पहिला काम नपाएर घरमै बसिन्थ्यो । मोवाइल हेरेर समय बिताइन्थ्यो । तर अहिले त्यस्तो छैन, सीपको पुरापुरी सदुपयोग गरिरहेकी छु । –आफनो कामप्रति गौरवान्तित हुँदै उनले सुनाईन । नेपालीकाअनुसार, समुहमा भएका महिलाहरु जुत्ता– चप्पल र अचार बनाउँदै आएका छन् भने नगरपालिकाले प्रदान गरेको कोसेली घरबाट नै सामानहरु सटरमा राखेर बेच्दै आइएको छ । तर भने जस्तो व्यापार भने हुन सकेको छैन । भैरहवामा लाग्दै आएको आइतबार र बिहीबारे हाट बजारको दिनमा एक दिनमा २ देखि ३ हजार सम्म बिक्री हुने गरेको उनले जनाइन ।

नगरपालिकाबाट लक्षित बर्गको तालिम लिएर आत्मनिर्भर भएका लक्ष्मी, बबी र प्रेम कुमारी हाम्रा समाजका उदाहरण मात्रै हुन । स्थानीय सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन लक्षित बर्ग अन्र्तगत विभिन्न रोजगार मुलक तालिमहरु दिदै आएको छ । सिद्धार्थनगर नगरपालिका सामाजिक बिकास शाखाका अनुसार, गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७९÷ ८० मा वडा नम्बर २ र ६ मा नयाँ उद्यमी सिर्जना तर्फ सामाजिक परिचालन अभिमुखीकरण पि.आर. ए, समुह गठन, लोजेस्टिक सहयोग सामाग्री कायक्रममा २ सय ४४ जनाको सहभागिता रहेको थियो ।

सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरीका अनुसार, उद्यमशिलता बिकास तालिम चार समूहमा विभाजन गरी ८४ जनालाई प्रदान गरिएको छ । यस्तै सिप बिकास तालिम अन्तर्गत चुरापोते सिप बिकास तालिम तर्फ वडा नम्बर २ र ६ मा गरी २४ जना, जुत्ता चप्पल वडा नम्बर २ र ६ मा १२ जना, सिलाई कटाई सिप बिकास तालिममा १४ जना र आधारभुत ब्युटीपार्लर सिप बिकास तालिममा २८ जना महिलाहरुले तालिम लिएका छन । यस्तै गरी प्रबिधी सहयोग मा २६ जना, लघु कर्जा पहुचमा ७८ जना, बजारीकरण तालिममा ७८ जना, उद्यम बिकास सहजकर्ता परिचालनमा २ जना रहेका छन । यस्तै सिद्धार्थनगरपालिका वडा नम्बर ३ मा स्तरोन्नती जुत्ता– चप्पल सिप बिकास तालिम १६ जना महिलाले लिएका छन । सिद्धार्थनगर नगरपालिकाले युवा लक्षित लोकसेवा तयारी कक्षा, बेरोजगार युवाहरुलाई लेखापालन तालिम , महिलाहरुका लागी खोजमुलक पत्रकारिता तालिम , विभिन्न सिपमुलक तालिमहरु जस्तै अगरबत्ती , स्यानटरी प्याड, ब्याग लगायत , महिला लक्षित कार्यक्रम अन्र्तगत जुत्ता–चप्पल बनाउने तालिम लगायतका बिभिन्न किसिमका लक्षित बर्गका तालिमहरु प्रदान गर्दै आएको छ । लक्षित बर्गका तालिमहरुले महिलाहरुलाई आत्मनिर्भर बनाइरहेको सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरीले बताए । चालु आर्थिक बर्षमा पनि यस्तै कार्यक्रमले निरन्तरता पाउने उनको भनाई छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले उद्यम बिकास तालिम अन्र्तगत वडामा ४० जनाको समूहलाई उनीहरुको रुचि अनुसार सिलाइकटाई, जुत्ताचप्पल, चुरापोते, ब्युटीपार्लर लगायतका तालिमहरु संचालन गरिएको बताए । तालिमप्राप्त महिलाहरुलाई थप एडभान्स तालिमहरु संचालन गर्ने योजना रहेको पनि वडा अध्यक्ष श्रीवास्तवले बताए । अध्यक्ष श्रीवास्तवले उद्यमी महिलाहरुलाई वडाले निशुल्क सटरको ब्यवस्थापन गर्ने , सरसामान बिक्री बितरणका लागि आवश्यक सहजीकरण गर्ने बताए । उनले बिना धितो बंैक तथा बित्तिय संस्थाले लगानी गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
यस्तै सिद्धार्थनगर नगरपालिका नगर उपप्रमुख उमा अधिकारीले लक्षित बर्गका महिलाहरुले उत्पादन, निर्माण गरेको सामाग्री घरमै उपयोग भएको र छरछमेकमा बेचेर पनि आर्थिक उपार्जन गर्न सकेको बताइन । आफुले उत्पादन गरेका सामानहरु कोसेली घरमा ल्याएर सजिलै बेच्न सकिने भएकोले उद्यमी महिलाहरुलाई कोसेली घरमा ल्याएर सामान बेच्न समेत अधिकारीले आग्रह गरिन ।

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सिप सिकेका लक्षित बर्गका महिलाहरु संघको सम्पर्कमा आए संघले बजार ब्यवस्थापन लगायतका कुरामा समन्वय र सहयोग गर्ने विश्वास दिलाए । आगामी दिनमा नगर र संघसँगै मिलेर तालिम संचालन गर्ने योजना बनाएको उनले बताए । उत्पादन र बजारीकरणमा नगर र संघ हातेमालो गरी काम गरेमा अझ प्रभावकारी हुने भएकोले यो जरुरीे देखिन्छ ।

प्रकाशित मिति: २०२४-०५-०२ , समय : १०:३९:२५ , २ हप्ता अगाडि