निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन महानिरीक्षक सिंहको निर्देशन

रुपन्देही खबर , १९६  पटक हेरिएको

काठमाडौं, मंसिर १

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने बताउनु भएको छ । 

बुधबार भर्चुअल भिडियो कन्फरेन्समार्फत् प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशक, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन दिँदै यस्तो बताउनु भएको हो ।

उहाले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी थप सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्न समेत निर्देशन दिनु भएको छ । महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको व्यवसायिकतालाई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा जोड दिनु भएको छ । औचित्य पुष्टि हुने गरी एवं कर्तव्यनिष्ठताको क्रममा गरिएका काम कारबाहीप्रति संगठनको सदैव साथ रहने समेत उहाले बताउनु भएको छ ।

भर्चुअल कन्फरेन्समा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । 

प्रकाशित मिति: २०२२-११-१७ , समय : २३:३१:५० , २ वर्ष अगाडि