उर्मिला यादव यात्री , ३४१ पटक हेरिएको

भैरहवा, बैशाख १७
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ नौडीहवाका ६० वर्षीय मुनसरीफ अन्सारी ‘मेयर आवास निर्माण’ भएसँगै आफ्नो आधा कम दुःख भएको महसुस गर्छन् । सिद्धार्थनगर नगरपालिकाले विपन्न वर्गका निम्ति आवास सुविधा उपलब्ध गराएको हो । उनी विगत ३० वर्षदेखि टिनले छाएको माटोमा घरमा बस्दै आएका थिए । उनी मेयर आवास आफूलाई धेरै राहत भएको बताउँछन् । उनको ९ जनाको परिवार छ । मुनसरिफसँग आठ धूर जग्गाबाहेक अरु सम्पत्ति थिएन । उनी भन्छन्, ‘माटोको घरमा धेरै दुःख कष्ट सहेर बसियो । अरुभन्दा पनि वर्षाको समयमा घरमा बस्न सक्ने अवस्था हुन्थेन ।’ उनी विगत सम्झिँदै भन्छन्, ‘जाडोमा भन्दा पनि वर्षाको समय धेरै दुःख सहनु पथ्र्याे, घर चुहिन्थ्यो । पानी पर्दा राति थालमा पानी फाल्थेम । यसरी पनि जिन्दगी गुजारा गरियो ।’
उनी मेयर आवास पाउदा एकदमै खुसी छन् । उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर छ । घर बनाउन पनि धेरै पैसा चाहिन्छ । मजदुरी गरेर साझ बिहान छाक टार्ने कि घर बनाउने चिन्ताले सताइरहन्थ्यो । तर नगरपालिकाले घर बनाएपछि आधा दुःख कम भयो । अब बस्न सुविधा भयो । नगरपालिका हाम्रा लागि भगवान नै बनेर आयो । हामी खुसी छौ ।’
त्यसरी सिद्धार्थनगर नगरपालिका– १ रानीगाउँका रामसेवक अहिर आवास पाएपछि असाध्य खुसी छन् । विद्यालयको मुख नदेखेका ५५ वर्षीय रामसेवकसँग सात धुर जग्गा मात्र छ । उनी मजदुरी गर्दै जीवन निर्वाह गर्दै आएका छन । उनको तीन जनाको परिवार विगत लामो समयदेखि माटो र छानोको घरमा बस्दै आएका थिए । उनी अब मेयर आवासले सुनमा सुगन्ध थपेको बताउँछन् । उनी भन्छन्, ‘यसरी मेरो पनि छिट्टै घर हुनेछ भनेर सोचेको थिइनँ ।’
उनको खेतीपाती थिएन, स–साना बच्चाहरू थिए । मजदुरी गरेर जसोतसो परिवार पाल्थे । १४ वर्षको उमेरदेखि मजदुरी गर्दै आएका रामसेवक आफ्नो आमाको लालनपालनमा हुर्केका थिए । माटोको एक कोठाको घर, उसैमा वर्षाको समयमा चुहिँदा धेरै कष्ट सहेर जीवन निर्वाह गर्दै आएको उनी बताउँछन् । उनी भन्छन्, ‘वर्षाको समयमा नालाको पानी समेत घरमा पस्थ्यो । रातभर जागा बस्नुपथ्र्याे । घर हेर्दा पनि एकदमै राम्रो र पक्की घरमा बस्न पाउदा धेरै सहज भएको छ ।’
गरिबीले थिचिएकी सिद्धार्थनगर ६ की किस्मती हरिजन घर पाउँदा एकदमै खुसी छिन् । ६१ वर्षीय किस्मतीसँग भैरहवामा साढे ५ धुर जग्गा मात्र छ । उनले पढेलेखेकी पनि छैनन् । आठ जनाको उनको परिवार दुख–सुख गरी जसोतसो जिविका निर्वाह हुँदै आएको थियो । किस्मतीलाई नगरपालिकाले चैत मसान्तमा २ कोठे भवनसहित एक शौचालय बनाइ दिएपछि उनलाई पहिलाभन्दा धेरै राहत भएको बताउँछिन् । ६२ वर्षीय उनको श्रीमान शिवनाथ हरिजन खुट्टाको विरामी छन् । आर्थिक रूपमा विपन्न किस्मतीलाई नगरले मेयर आवास त दियो, तर चोरीको डर चाहिँ बढेको छ । उनकै भनाइमा, नगरले घर बनाउँदा चार वटा सिसाको झयाल राखिदियो । तर सुरक्षाको हिसाबले राम्रो भएन । आल्मुनियमको सिसासहित झ्याल हुदा आफूबाहिर हुँदा कोही फोडेर पस्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ । सिनपा–६ मा चोरीका घटनाहरूले बढी हुने भएकाले फलामको झ्याल भए सुरक्षित महसुस हुन्थ्यो ।
उनी पहिलाको अवस्था एकदमै खराब भएको र वर्षामा घरमा पानी पसेपछि घर छाडी कान्दु धर्मशालामा गएर रात काटनु परेको बताउँछिन् । किनभने घर खाल्टोमा भएकाले नालाको पानी पनि घरभित्र पस्थ्यो । वर्षामा घरभित्र पानी पसेर घर पनि भत्किन्थ्यो । यसरी वर्षामा घर भत्किने, बनाउने गर्दा गर्दै मैले यसरी नै ६० वर्ष दुःख गरेर बिताए । नगरपालिकाले मेयर आवास बनाइदिएपछि धेरै सहज भएको छ ।
उनी भन्छिन्, ‘ठेकेदारले घर बनाउने बेलामा धेरै दुःख दियो । कमसल सामाग्री प्रयोग गर्न थालेपछि विरोध गरे । त्यसपछि मात्र केही राम्रो बनायो । तर पनि एक बोरा सिमेन्टमा ७ बोरा बालुवा राखेर बनाउँदा उनको घरको ढलान चर्किन सुरु भएको छ । चर्पी बनाउँदा समेत ठेकेदारले सिढी समेत बनाउन मानेन । पछि नगरका कर्मचारीले भनेपछि मात्र चर्पीको सिढी बनायो ।’ यी त उदाहरणका पात्र मात्रै हुन । यस्तैगरी सिद्धार्थनगर नगरपालिका– ४ दोगहराका जगदीश पाण्डे, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक मुराली केवट, वडा नम्बर ८ बसडिलियाका घनश्याम कहार र वडा नम्बर ११ भुजौलीमा अयोध्या भुंईहारको लागि मेयर आवास निर्माण भएको हो । चालु आर्थिक वर्षमा नगरपालिकाले उक्त कार्यक्रमअन्तर्गत ७ परिवारका लागि घर निर्माण गरेको हो । ७ परिवारका लागि ठेक्का सम्झौता भइ घर निर्माण भएको नगरपालिकाका प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।
यी घरहरू चैत मसान्तभित्र बनेका हुन । कुल ३७ लाख ६२ हजार एक सय ४७ रुपैयाको लागतमा केटिएस बिल्डर प्रा.लि.ले घर निर्माण गरेको हो । एकतले टिनको छानो भएको दुई कोठा, र चर्पीसहित एकल परिवारलाई बस्न मिल्ने सुविधायुक्त घर नगरपालिकाले बनाएको हो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोखरेलले ‘मेयर आवास’ एकदमै निम्न वर्गका लागि भएको बताए । उनले जग्गा कम भएको फुसको, माटोको घर, निम्न वर्ग, परिवारको अवस्था, परिवारको संख्यालाई पहिलो प्राथमिकतामा राखेर वर्गीकरण गरी छनोटमा परेका निम्न वर्गलाई मेयर आवास निर्माण गरिएको बताए ।
उनले घर नहुँदा कष्टकर जीवन निर्वाह गर्दै आएका विपन्न वर्गका लागि मेयर आवास कार्यक्रम एकदमै प्रभावकारी र लाभदायी भएको बताए । उनले वर्षाको समयमा घर चुहिने, भत्किने समस्या भोग्दै आएका यो वर्गले आवास पाउँदा धेरै राहत भएको बताए । नगरमा कोही पनि घरबारविहीन नहुन् भन्ने उद्देश्यले विपन्न परिवारका लागि मेयर आवास कार्यक्रमअन्र्तगत सिद्धार्थनगर नगरपालिकाले वर्ष सूचना प्रकाशित गरी विपन्न व्यक्ति छनौट गर्छ । छनौटमा परेका एवम् विपन्नका निम्ति निश्चित बजेट विनियोजन गरी नगरपालिकाले प्रत्येक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।
‘नगरभित्र कोही पनि घरबारविहीन नहोउन् र सबैको आफ्नै छानो होस् भन्ने उद्देश्यले मेयर आवास कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई नगरपालिकाले प्रत्येक वर्ष निरन्तरता दिने बताएको छ । बजेट अभावका कारण एकै पटकमा धेरैलाई समेट्न नसकिएकाले आगामी दिनमा बजेट बढाउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्य नगरपालिकाको रहेको मेयर खाँले बताए । मेयर आवासका लागी नगरपालिका सूचना प्रकाशन गरेसँगै मेयर आवासका लागि ४७ जनाले फर्म भरेका थिए । कार्यविधिले तोकेको र प्रक्रिया पुगेका ७ जनालाई मात्र मेयर आवास निर्माण गरिएको हो ।
प्रकाशित मिति: २०२५-०४-३० , समय : २१:५१:१८ , १ हप्ता अगाडि